गृहपृष्ठ पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण

पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण

हुम्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर उचाइको स्थानमा रहेको भिमदुलामा एक सय ८ वटा सिंढीसहित भ्यूटावर निर्माण गरिएको छ । डिभिजन वन कार्यालय हुम्लाले ५० लाख रूपैयाँको लागतमा तयार गरेको भ्यूटावर र एक सय ८ सिंढीको निर्माण गरेको हो ।

महाभारतकालीन पाँच पाण्डवमध्ये महिला सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । उनीहरु बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासको अवस्थामा रहँदा उनीहरु बसेको ठाउँमा जब राक्षसी प्रवृत्तिहरुको अत्याचार बढ्दै गयो, तब उनीहरुको बध गर्नका लागि विभिन्न तामसिक कामहरु गर्नु परेकाले यो गुफा पनि त्यही समय बनेको सिमकोट गाउँका अदानसिंह रावत बताउँछन् । उनले सिंजाको पाण्डव गुफाबाट ढुंगा हानेर होल्मोलुङरिङको राक्षसलाई मार्न खोज्दा चंखेली, मारघोर हिमाल प्वाल पारेर सिमकोट खसेको जनश्रुति रहेको बताए । हाल यो भिमदुला खार्पुनाथ गापा र खर्केगाड गापाको बीचमा रहेको छ । 

यो हिमाल परापूर्वकालमा ऋषि महर्षिहरुको तपोभूमि भए पनि यहाँ नयाँ बस्ती गर्ने जातीय समुदायका कारण यहाँको इतिहास र जानकारी लोप भएको सर्केगाड गाउँपालिका राहदेउ गाउँका स्थानीय डा. दीपेन्द्र रोकायाको मत रहेको छ । यसको काखैमा रहेको दुधेदह र विभिन्न जडिबुटीहरुको खानी भएकाले पनि यहाँ एक पटक पुग्ने पर्ने ऐतिहासिक र धार्मिक स्थल भएको खार्पुनाथ गापा दुर्पा गाउँका स्थानीय धनबहादुर ऐडीले बताए । लामो समयको लकडाउनका कारण पनि स्थानीय, कर्मचारी, शिक्षक र अन्यहरु यहाँ पटकपटक जाने गरेको सिमकोट ५ का राजबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु