गृहपृष्ठ चितवन मेडिकल कलेजमा कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मलमा कालोबजारी गर्नेलाई जरिवाना  
जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
मल कालोबजारी गरेको अभियोगमा प्रशासनले सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना तथा सदस्यहरु निर्मल घिमिरे र मायानाथ अर्याललाई पक्राउ गरेको थियो ।
सहकारीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै उनीहरुलाई जरीवाना र बिक्रीका लागि राखिएको मल जफत गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए । सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णय गरेकोसमेत सिम्खडाले बताए । (रासस)

प्रकाशित समय ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु