गृहपृष्ठ भ्रष्टाचारको अभियोगमा एक महिनामै १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

भ्रष्टाचारको अभियोगमा एक महिनामै १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आर्थिक अपचलनको आरोपमा भदौमा मात्रै ४ जना अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अपचलनको आरोपमा भदौ महिनामा ४ जनालाई नियन्त्रणमा लिएको छ ।

भदौ महिनामा एक हजार २१६ उजुरी परेकोमा अख्तियारले ५ लाख ८५ हजार रुपैयाँबराबर अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा जम्मा दुई हजार ८९९ उजुुरी परेका छन् । जसमध्ये साउन महिनामा मात्रै एक हजार ६८३ उजुरी परेका थिए ।

पक्राउ पर्नेहरुमा प्रशाकीय अधिकृत, इन्जिनियरदेखि कार्यालय सहयोगीसम्म रहेका छन् । अख्तियारले भदौमा नियन्त्रणमा लिएकामध्ये पूर्वाधार विकास कार्यालय बाँकेमा कार्यरत मनिषकुमार अर्याल सबैभन्दा बढी घुुस लिने आरोपी हुन् । उनलाई स्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित अख्तियारले पक्राउ गरेको हो ।

विभिन्न सेवाग्राहीबाट रकम लिई बुटवल जाँदै गर्दा अर्याललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनी भदौ १४ गते पक्राउ परेका हुन् । त्यस्तै नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन साहायक कृष्णहरि वाग्ले अख्तियारको नियन्त्रणमा परेका छन् । उनले खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न वहानामा सेवाग्राहीसँग २५ हजार घुस मागेका थिए । अख्तियारले उनलाई भदौ २५ गते पक्राउ गरेको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका २ का वडाअध्यक्ष सरोजकुमार पाण्डे भदौ १८ गते अख्तियारको फन्दामा परेका छन् । अनुदानस्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेगाग्राहीसँग २० हजार घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।

यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौँमा कार्यारत नायब सुुब्बा शिवशंकर महतो १० हजार रकमसहित पक्राउ परेका छन् । फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ उनी परेका हुन् । उनलाई अख्तियारले भदौ १ गते पक्राउ गरेको जनाएको छ ।

साउन महिनाको तुलनामा भदौ महिनामा कम भ्रष्टाचारका आरोपीहरु पक्राउ परेको अख्तियारको तथ्यांकले देखाएको छ । साउन महिनामा २६ जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने १६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

कति जनालाई चलाइयो मुद्दा ?
भदौ महिनामा अख्तियारले १९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जसअन्तर्गत सवइन्जिनियर गजेन्द्रप्रसाद जैसावाल, प्रमुख प्रशाकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोरकुमार मोक्तान, कार्यालय सहयोगी विश्वनाथप्रसाद लोत र मतियार महेन्द्रप्रसाद यादवलाई मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै इन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जनाविरुद्ध पनि मुद्दा दायर भइसकेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारमा भदौ महिनामा सबैभन्दा बढी २९२ लिखित उजुरी परेका छन् । त्यस्तै हुलाकबाट २१८, इमेलबाट ३०६, टेलिफोनबाट १३५ उजुरी परेका छन् । अन्य माध्यम वेवसाईट १८९, फेसबुक ४७, मोबाईल एप १९, पत्रपत्रिका ६, भाइबर ४ उजुरी परेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु