गृहपृष्ठ जनकपुर रेल्वेको पुरानो इन्जिन र पार्टपुर्जा संग्रहालय बनाएर राखिने
जनकपुर रेल्वेको पुरानो इन्जिन र पार्टपुर्जा संग्रहालय बनाएर राखिने
ब्रोडगेज रेल जयनगरदेखि बर्दिवाससम्म रेल्वे सेवा चलाइने
जनकपुर रेल्वेको पुरानो इन्जिन लगायतका संरचनालाई संग्रहालय बनाएर राख्ने तयारी भएको छ ।तत्कालीन समयमा भारतलाई आफ्नो कब्जामा लिएका ब्रिटिस सरकारले नेपालबाट काठ दाउरा र खाद्यान्न ओसारपसारको लागि निर्माण गरेको रेल्वे पछि यात्रु ओसारपसार गर्दै २०६९ सालदेखि पूर्ण रुपमा बन्द भएको जयनगर जनकपुरदेखि विजलपुरासम्म नेरोगेज रेलको इन्जिन लगायतको अन्य भौतिक संरचनालाई संग्रहालय बनाइने भएको हो ।
जनकपुरमा रहेको मुख्य स्टेशन र खजुरीमा रहेको रेलमर्मत कारखानामा रहेका पुरानो रेल्वेका इन्जिन, बोगी, डब्बा, पार्टपूर्जा लगायतका संरचनालाई नेपाल रेल्वे कम्पनीले संग्रहालय बनाउने तयारी गरेको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए ।

उनका अनुसार धनुषाका पूर्वी क्षेत्रका बासिन्दाहरुको लागि एक मात्र भरपर्दो र सुरक्षित यात्राको माध्यम रेल सेवा रहेकोमा २०६९ सालबाट बन्द भएपछि ब्रोडगेज रेल सेवाको लागि भारत सरकारको अर्बाैंको लगानीमा जयनगरदेखि बर्दिवाससम्म रेल्वे सेवा चलाइने भएको छ । अहिले कुर्थासम्म रेल्वेको सम्पूर्ण काम पूरा भएको र विजलपुरासम्म ८० प्रतिशत काम सम्पन्न भइसकेकाले आउँदो २ महिनापछि विजलपुरासम्म रेल्वे सञ्चालनको तयारीमा नेपाल रेल्वे कम्पनी अगाडि बढेको छ ।
जनकपुरमा रहेको पुराना रेल्वेको पुरानो स्टिम इन्जिनको इतिहास दुई सय वर्ष पुरानो रहेको छ । जुन जर्मनीमा निर्माण गरिएको छ । इन्जिनको नाम ‘सीता’ दिएको छ । यो इन्जिन अहिले संसारमा कतै पनि नभएकाले यसलाई संग्रहालय बनाएर आउने पुस्ताहरुको लागि राखिने महाप्रबन्धक भट्टराईले बताए ।

‘संसारमै नरहेको यो इन्जिन लगायतको संरचना लिलामी गरेर बेच्ने तयारी थियो । तर, म आएपछि यस्तो महत्वपूर्ण इन्जिनलाई लिलाम नगरी संरक्षणका लागि केही रकमसमेत छुटयाउँदै स्थानीय सरकारको समन्वयमा संग्रहालय बनाउने अभियानमा लागेको हुँ,’ महाप्रबन्धक भट्टराईले भने ।
अत्यन्त जीर्ण अवस्थामा पुगेर झण्डै सात वर्षअघि नेरोगेज रेल बन्द भएपछि सोही संरचना हटाएर ब्रोडगेज रेलको संरचना निर्माण गरिएको छ । ५/५ डब्बामा एक डब्बामा एसीसमेत भएको दुई वटा रेल नेपाल सरकार ८४ करोड ६५ लाखमा खरिद गरिसकेको छ ।
प्रकाशित समय १५:५४ बजे

















