गृहपृष्ठ आर्थिक प्रलोभन ईन्कार गर्ने ट्राफिक प्रहरी सम्मानित

आर्थिक प्रलोभन ईन्कार गर्ने ट्राफिक प्रहरी सम्मानित

सवारी नियम उल्लंघन गर्ने चालक/सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । आजै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भिम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरे ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरश: पालना गरी सवारी नियम उल्लंघन गर्ने चालक/सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालक/सहचालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको महाशाखाका प्रमुख एसएसपी ढकालले बताए ।

संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको उनले बताए । यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको महाशाखाले जनाएको छ । यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ । सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियमविपरीत कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमाअपिलसमेत गरेको छ ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु