गृहपृष्ठ रोटरीबाट न्युज कारोबारकर्मी सिंह पुरस्कृत

रोटरीबाट न्युज कारोबारकर्मी सिंह पुरस्कृत

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आफूले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० बाट न्युज कारोबार डटकमका प्रदेश २ संयोजक दीपेन्द्रप्रसाद सिंहलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार दिने निर्णय भएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका एक÷एक गरी सात उत्कृष्ट पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई प्रदान गरिने भएको हो । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।

त्यस्तै स्वतन्त्र पत्रकारिताका माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशन तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनाका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई जना पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले दश लाख रुपैयाँको पुरस्कार छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्राकुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई दिने निर्णय भएको छ ।

प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने उक्त अवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही पाँच÷पाँच लाख रुपैयाँका दरले वितरण गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठले जानकारी दिए । उक्त पुरस्कार इञ्जिनीयर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफू र आफ्नी श्रीमती बद्रीलक्ष्मीका नाममा स्थापना गरेका हुन् । इ जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन् ।

रोटरी वर्ष २०१९–२० मा सो अवार्ड शिक्षा पत्रकारितातर्फ न्युज कारोबारकर्मी सिंहसहित आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौं, वातावरण पत्रकारिता क्षेत्रबाट टीका बन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौँ, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौँ र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौँले पाएका छन् ।

यसैगरी प्रदेशअन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौँ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगबोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरिन्युज डटकट) कैलालीलाई वितरण गरिने जनाइएको छ ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु