गृहपृष्ठ कर्णालीको दिगो विकास लक्ष्यहरुको आधार तथ्यांक प्रतिवेदन सार्वजनिक
कर्णालीको दिगो विकास लक्ष्यहरुको आधार तथ्यांक प्रतिवेदन सार्वजनिक
कर्णाली प्रदेशको दिगो विकास लक्ष्यहरुको आधार तथ्यांक प्रतिवेदन सार्वजनिक गरिएको छ । मुख्यमन्त्री महेन्द्रवहादुर शाही, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि आयसानी लाबेले शुक्रबार संयुक्त रुपमा भर्चुअल कार्यक्रममार्फत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
कर्णाली विशेषको सन्दर्भ, मापनको आधार र दिगो विकास लक्ष्यका विशेषताहरु प्रतिवेदनमा समेटिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमा कर्णाली प्रदेशमा दिगो विकासका लक्ष्य सुचकांकको आधार, तथ्यांककको अवस्था, तथ्यांकको उपलब्धता, कार्यान्वयन र नीतिगत दिशासम्बन्धी विषयहरु रहेका छन् ।
भर्चुअल कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको समस्या तथ्यांकमा रहेको र त्यसअनुसार पूर्वाधार, उर्जा, वस्ती विकास, सिँचाइ, खानेपानीमा कर्णाली सरकार केन्द्रित हुनुपरेको बताए । कोभिड– १९ का कारण हाल स्वास्थ्यमा केन्द्रित भएको र आउदा दिनहरुमा शिक्षा ,स्वास्थ्य, रोजगारी र त्यसका लागि पूर्वाधारमा केन्द्रित हुने मुख्यमन्त्री शाहीको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले दिगो विकास तथ्यांक सार्वजनिक गर्ने कर्णाली तेस्रो प्रदेश भएको बताउँदै यस्तो कार्य स्थानीय तहहरुमा पनि गर्नुपर्नेमा जोड दिए । युएनडीपीको सहयोगमा प्रतिवेदनको अध्ययन तथा प्रकाशित गरिएको हो ।
प्रकाशित समय १८:५७ बजे

















