गृहपृष्ठ मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. पौडेल नियुक्त

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. पौडेल नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सह–प्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो ।

दरखास्त आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह–प्रा. डा. पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो,’ उनले भने, ‘जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।’

उपकुलपति प्रा. डा. सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गरे । यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु