गृहपृष्ठ उमाकान्तको परिवारमा वर्षौंपछि फर्कियो खुसी

उमाकान्तको परिवारमा वर्षौंपछि फर्कियो खुसी

शरद ऋतु लागिसक्दा पनि गर्मी धपक्क थियो । झम्के साँझमा बादलको घेराले अझ धुमिल बनाउँदै गरेको घाम क्षीतिजतिर नजिकिँदै थियो । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका १ घोघिदहाको चौधरी बस्तीमा अस्ताउँदो घामका किरण रुखका चेपबाट खसिरहेका थिए । बस्तीको एउटा आँगनमा उपस्थित समुदायको मुहारमा भने झुल्के घामकै चमक देखियो । गाउँका ४६ वर्षीय उमाकान्त चौधरी २२ महिनापछि गाउँ फर्किने खुसीले हरेकको मुहार उज्यालिएको थियो ।

अँध्यारो कटेरोमा १३ वर्षसम्म रुखमा जरा जेलिएझैँ साङ्लोमा जेलिएर अनि त्यही घाउमा किरा परेर बसेका मनोरोगी चौधरी यसरी हट्टाकट्टा अवस्थामा फर्किन्छन् भनेर गाउँलेले चिताएका थिएनन् । उनी आउने खबर गाउँभरि भुसको आगोजस्तै फैलियो । असोज १४ गते बुधबार चौधरीको आँगन र गोरेटामा बिहानैदेखि बाक्लै आउजाउ चल्यो । कति खेर आउने भनेर पटकपटक गाउँलेले सोधखोज गरिरहे । बाइस महिनाअघिको उमाकान्त हेर्ने उत्कट चाहनाले हरेकका आँखा मूल बाटोमै घरीघरी सोझिन्थे । साङ्लोबाट अब उज्यालोतिरको यात्रामा लम्किएका उमाकान्त चौधरीको यात्रा हेर्न समुदाय उत्सुक देखिए ।

हेटौँडाबाट लामो यात्रा तय गरी सरर गाडीमा उमाकान्त गाउँ पसे । गाउँलेहरू उनलाई स्वागत गर्न बाटोसम्म आइपुगेका थिए । गाडीबाट ओर्लिंदै गर्दा उनलाई संरक्षण दिएको संस्था मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘ल अब आफ्नो घर कुन हो, आफैँ चिनेर जानुस् त !’ ‘हुन्छ’ मुसुक्क हाँस्दै उनले छोटो जवाफ दिए । अनि फटाफट फाटक खोल्दै गृह प्रवेश गरे ।

मनोरोगी र त्यसमाथि १३ वर्ष साँङ्लोमा बाँधिएर कष्टको जीवन बेहोरेका व्यक्ति आम मानिसझैँ खुरुखुरु हिँड्ला, सबैसँग कुरा गर्ला र घरपरिवार चिन्ला भन्ने कुनै आशा थिएन । त्यसविपरीत उमाकान्तले आँगनमा सारा गाउँलेलाई पहिलेझैँ अभिवादन फर्काए । मनोरोगले विक्षिप्त रहेका बेला कसैलाई नचिन्ने उनले धेरैलाई नामसहित बोलाए । जम्मा भएकाको अनुहारमा आश्चर्य र अपनत्व दुवै छचल्कियो ।

घरभन्दा झन्डै ५०० मिटर पर पूर्व–पश्चिम राजमार्गमा उमाकान्त आएको थाहा पाउनेबित्तिकै केही गाउँले गाडीमै भेट्न पुगेका थिए । त्यही समयमा केही गाउँलेले दुःखसुख साट्न भ्याए । चिना पहिचान गरे । राम्रै भलाकुरासी भयो । उमाकान्तले एक–एक गर्दै चिने । पहिले डराउने गाउँले अहिले समिपमा गएर दंग परे ।

घरभित्र पस्नुअघि १३ वर्षसम्म आफूलाई बाँधेर राखेको कटेरो पुलुक्क हेरे । तर, त्यता गएनन्, मूल ढोकातिर मोडिँदै भित्र पसे । उनलाई बाँधेर राख्ने गरिएको कटेरो अहिले दाउरा र परालले भरिएको थियो । उमाकान्तलाई स्वागत गर्न घरको मूल ढोकामा घडा थापिएको थियो । तामाको थालीमा दियोबत्ती फूलमाला, अक्षतापाती, अबिरका साथ पत्नी सुशीला र काकी फलेश्वरीले स्वागत गरे । ढोकैमा पूजा सुरु भयो । छोरा सग्लो फर्केको देख्दा वृद्धा आमा पल्टीदेवीका आँखा रसाए । पत्नी र छोरीहरु सुक्कसुक्क गर्न थाले । केहीबेर चकमन्न मौनता छायो । हर्षका आँसुले हेर्नेका मन पग्लिए । मौनता तोड्दै काकी फलेश्वरीले धुपबत्ती र पूजा गर्दै भनिन्, ‘न जिउँदो न मर्ने अवस्थाको मान्छेले नयाँ जीवन पाएको छ, सदासर्वदा सुखी होस्, पहिलोको जस्तो कष्ट भोग्नु नपरोस् ।’

‘न जिउँदो न मर्ने अवस्थाको मान्छेले नयाँ जीवन पाएको छ, सदासर्वदा सुखी होस्, पहिलोको जस्तो कष्ट भोग्नु नपरोस् ।’

नजिकै आएर कान्छी छोरी दिपीकाकुमारीले सोधिन्, ‘हमरा चिनै छि ।’ उमाकान्तलाई छोरीले जिस्क्याएको भान भयो । मन्द मुस्कान छरेर टाउको हल्लाए अनि खुसी साँटे । गाउँलेहरू मैथिली भाषामा उमाकान्तकै बारेमा खासखुस गरिरहे । सन् २०१८ की मिस नेपाल शृंखला खतिवडा पनि स्वागतको एक सहभागी थिइन् । पुनर्मिलनको त्यो नौलो अनुभूति उनले गाउँलेकै साथमा साँटिन् । गाउँलेको खुसीमा उनको खुसी मिसिएको थियो । ‘मायाले सब ठिक हुन्छ भन्ने एउटा उदाहरण हो, आफ्ना परिवारलाई आश्रमले झैँ मायाँ गरौँ,’ मलिन स्वरमा उनले भनिन् ।

स्वागत गर्न प्रदेशसभा सदस्य रुवी कर्ण दिउँसोदेखि नै प्रतीक्षारत थिइन् । गृहप्रवेश गराउँदै उनले राज्यले गर्नुपर्ने काम गरेको भन्दै आश्रमको खुलेर प्रशंसा गरिन् । ‘यो त नमुना काम भयो, चेतना अभावमा मानिसलाई पागल भनेर हेप्ने अवस्थाले कतिका बुबा, छोराछोरी, श्रीमान्, श्रीमती गुमिरहेका छन्,’ कर्णले भनिन्, ‘समाजको दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।’ उनले यस विषयमा प्रदेशसभामा आवाज उठाउने र अभियानमा सरिक हुने प्रतिबद्धता पनि जनाइन् । त्यही बेला गाउँपालिका वडासदस्य हीरादेवी सिंहले वडाको प्रतिनिधित्व गर्दै मानवीय काम गरेको भनेर मानवसेवा आश्रमका सदस्यलाई दोसल्लासहित फूलमाला र अबिरलगाएर सम्मान गरिन् ।

स्थानीय पत्रकार मनोहर पोखरेलले विगत सम्झाए । ‘उहाँसँगै बाँधिएका बाख्राका गलाबाट बेलाबेलामा दाम्लो फुक्थ्यो तर उहाँको हातबाट कहिल्यै साङ्लो फुकेन, त्यही मान्छे आज सामाजिक जीवनमा फर्किंदा गर्व महसुस भएको छ,’ उनले भने । पोखरेलकै सहयोगमा आश्रमले उमाकान्तलाई उद्धार गरेको थियो । कसैले नगरेको काम आश्रमले गरेको भनेर तत्कालै अभियानमा इँटा थप्ने भन्दै उनले परिवारको तर्फबाट १० हजार रुपैयाँ सहयोग पनि गरे ।

गृह प्रवेशका क्रममा आश्रम अध्यक्ष अधिकारीका पनि आँखा रसाए । उमाकान्त आश्रमको सम्पत्ति भइसकेकाले त्यो पुनर्मिलन समारोह उनका लागि पारिवारिक बिछोड बन्यो । घर फर्काउने चाहना नहुँदानहुँदै उमाकान्तले परिवारको याद धेरै गर्न थालेपछि मन बाँधेर पुनर्मिलन गराउनुपरेको उनले बताए । ‘मान्छे खानाको भन्दा प्रेमको भोको छ,’ अधिकारीले भने, ‘हामीले उहाँलाई खास केही गरेका होइनौँ, प्रेम दियौँ र चिकित्सकले भनेअनुसार औषधि दियौँ ।’ उमाकान्तलाई अहिलेको अवस्थामा फर्काउन आाश्रमले २२ महिना उपचार, औषधि र मायासहितको अथक प्रयास गरेको थियो ।

तेह्र वर्षदेखि साङ्लोमा बाँधिदा कुँजिएको शरीर, रुखमा लहरा बेरिएर जेलिएझैँ हातको मासुमा जेलिएको साङ्लो देख्दा सबैको मन कटक्क भएको थियो । देख्ने–सुन्नेहरु आङ जिरिंग पार्थे । भिडियो हेरेर कति आत्तिन्थे । घाउमा किरा परेको थियो । नजिक जान सबै डराउँथे । त्यो परिवारले दैनिक भोग्दै आएको समस्या हो । एक दिन एकजना परिवारका सदस्यलाई खुर्पाले हानेको अनुभव उनीहरुसँग छ ।

त्यही अवस्थाबाट आश्रमका प्रवक्ता सुमन बर्तौलाको अगुवाइनमा २०७५ साल मंसिर २२ गते उनको उद्धार गरिएको थियो । कसैसँग नमानेका उमाकान्तले सुमनसँग परिचितझैँ व्यवहार गरेको गाउँले स्मरण गर्छन् । उमाकान्तको हातमा जेलिएको साङ्लो निकाल्न शल्यक्रिया नै गर्नुपरेको थियो ।

झन्डै ६ महिनासम्म उनमा सामाजिक चेत आएको थिएन । आश्रम परिवारलाई विभिन्न गालीगलौज गरेर तर्साउँथे । एक मन त ठिक हुँदैन कि भन्ने आशंका पनि थियो । ६ महिनापछि विस्तारै चेतना फर्किँदै आएपछि खुसीको बहार छाएको अधिकारी सम्झन्छन् । झन्डै दुई वर्षे उपचारमा पाँच लाख रुपैयाँ खर्च गरेर आश्रमले उमाकान्तको जीवन फर्काएको हो ।

‘उमाकान्त दाइ के गरिरहनुभएको होला !’ मनमा खुल्दुली लागेपछि अधिकारी बिहीबार फेरि उनको घर पुगे । उनी घरमा हर्षित मुद्रामा कुर्सीमा बसिरहेका थिए । देख्नेबित्तिकै आदरभाव दर्शाए । राम्ररी कुराकानी गरे । ल्याएको मिठाई बाकस खोलेर खाए । अधिकारीले औषधि खुवाउने विधि छोरीलाई सिकाए । परिवारका अनुसार उनी बिहान हिँड्डुल गर्न र घरायसी काममा समेत सरिक हुन थालेका छन् । ‘तपाईं अब घरमै बस्ने कि आश्रम जाने,’ हाम्रो जिज्ञासामा उमाकान्तले भने, ‘दुवै ठाउँमा पालैपालो बस्ने ।’ कुराकानीका क्रममा उनले आफूलाई बाँधेर राखेको ठाउँ देखाए । १३ वर्षसम्म साङ्लोले बाँधिएर बनेको घाउको खाटा देखाउँदै खिस्स हाँसे ।

१५ वर्षअघि उमाकान्तमा कुनै समस्या थिएन । नियमित खेती-किसानी गर्ने, हलो जोत्ने सबै काम आफैँ गथे ।

१५ वर्षअघि उमाकान्तमा कुनै समस्या थिएन । नियमित खेती-किसानी गर्ने, हलो जोत्ने सबै काम आफैँ गथे । चार सन्तानका बाबु उनमा विस्तारै टोलाउने र निद्रा नलाग्ने समस्या देखिन थाल्यो । आमा पल्टीदेवीका अनुसार नौ पटक धरानमा लगेर उपचार गरिएको थियो । परिवारले गर्ने जति गरे । निको हुनुभन्दा झन् समस्या थपियो । आश मारेर बाँधिएको थियो । फेरिएको देखेपछि पल्टीदेवीले आफ्नै भाषामा भनिन्, ‘विश्वास नै छलो, ठिक हे तोइ ।’ धेरै प्रयास गर्दा पनि जीवन फर्काउन नसकेको छोरालाई नयाँ जीवन दिएर आश्रमले ठूलो गुन लगाएको पल्टिदेवीले बताइन् । परिवारले दुई-तीन वर्ष नै उपचार प्रयास गरेका थिए । रिसाहा व्यवहार देखाउन थालेपछि मानिसलाई आक्रमण गर्ने डरले बाध्यताबस बाँधेको स्थानीय दुर्गानन्द चौधरी बताउँछन् ।

आश्रमले यस्तै कष्टकर जीवन व्यतीत गरिरहेका बेसहारा, मनोरोगी र असहायको उद्धार गरी संरक्षण गर्दै आएको छ । देशका १५ जिल्लाका २१ आश्रममा एक हजार १०० भन्दा बढी बेसहारालाई संरक्षण दिइरहेको आश्रमले परिवारबाट बिछोडिएर सडकमा पुगेका ६०० भन्दा बढीलाई यसैगरी परिवारसँग मिलन गराइसकेको छ ।

‘हाम्रो एकमात्रै लक्ष्य हो, मुलुकलाई सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउने, सबैको साथ पाए सम्भव छ,’ अधिकारीले भने, ‘यो अभियानमा हिजोआज सरकारको समेत साथ पाउन थालेका छौँ ।’ (नारायण ढुङ्गाना/रासस)

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु