गृहपृष्ठ उपत्यकामा ट्राफिक प्रतिबद्धता टोकन राख्न सुरू
उपत्यकामा ट्राफिक प्रतिबद्धता टोकन राख्न सुरू
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमसम्बन्धी व्यवहारिक र जीवन उपयोगी बुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाडौं उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न सुरू गरेको छ ।
महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तीय संस्था, स्थानीय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतना अभिबृद्धि गराउन ट्राफिक प्रतिबद्धता टोकन राख्ने कार्यको थालनी गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र अझ प्रभावकारी बनाउनको लागि जनचेतना जगाउँदै चालकहरुलाई आफ्नो जिम्मेवारी बोध गराई सडक सभ्यतालाई जीवन पद्दतिको रुपमा विकास गर्न यो अभियान सुरू गरेको बताए । ‘ट्राफिक व्यवस्थापनका मुख्य तीन आधार प्रविधि सहितको सडक पूर्वाधार (Engineering), कानुन कार्यान्वयन (Enforcement) र सडक सचेतना (Education) मध्ये सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि एक प्रमुख आधार हो,’ एसएसपी ढकालले भने, ‘चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले प्रयोग गर्ने सडक संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइ नै रहन्छन् । त्यसैले यस्तो अभियानले ट्राफिक व्यवस्थापन एवं सडक सभ्यतामा सुधार गर्नको लागि सहयोगी बन्ने अपेक्षा गरिएको छ ।’

सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा थप सहयोग हुने भएकोले यस्तो ट्राफिक प्रतिबद्धतासम्बन्धी टोकन राखिएको बताए । महाशाखाको पहल र काठमाडौ महानगरपालिकाको सहकार्यमा बढी सेवाग्राही आउने कार्यालय, प्रतिक्षालय, नागरिक सहायता कक्षहरुमा राख्न ४०० थान ट्राफिक प्रतिबद्धता टोकन र सार्वजनिक स्थान, कार्यालय कम्पाउण्ड तथा भिडभाड हुने स्थानहरुमा राख्नको लागि ५० थान ट्राफिक प्रतिबद्धतासम्बन्धी सूचनामुलक बोर्डहरू निर्माण गरिएको महाशाखाले जनाएको छ ।
‘सबै पक्षले सडक अनुशासन, मर्यादा र धैर्यता कायम गरी एकअर्कोको सम्मान गर्दै ट्राफिक नियमको पालना गर्नु हामी सबैको कर्तव्य हो’ भन्ने मूल मन्त्र लिई सडकको उचित प्रयोग गर्दा दुर्घटनाको सम्भावना कम हुने र आफू र आफन्तजन सुरक्षित हुने भएकोले सदैव ट्राफिक नियमको पालना गर्नसमेत ट्राफिक महाशाखाले विशेष अनुरोध गरेको छ ।
प्रकाशित समय १८:२६ बजे

















