गृहपृष्ठ गोदावरीमा वन संरक्षककै मिलेमतोमा तीव्र अतिक्रमण

गोदावरीमा वन संरक्षककै मिलेमतोमा तीव्र अतिक्रमण

बन्दाबन्दीका कारण अतिक्रमणबारे तथ्यांक संकलन गर्न सकिएन : डिभिजन प्रमुख कँडेल

प्रदेश राजधानी घोषणा, तीव्र शहरीकरण, शिक्षा, स्वास्थ्य, बाटो, बिजुलीजस्ता अत्यावश्यक सुविधामा पहुँच भएका कारण सुदूरपश्चिमको मुख्य नाका अत्तरिया, गोदावरी र आसपासका क्षेत्रमा व्यापक वन अतिक्रमण भएको छ । विशेष गरेर प्रदेश राजधानी घोषणा भएपछि गोदावरी आसपासका डाडापाखाहरु समेत घेरिन थालेका छन् । यसअघि अत्तरिया आसपासका सामुदायिक वनमा व्यक्तिगत, संस्थागत र राजनैतिक अतिक्रमणले चर्चा पाउदै आइरहेको भए पनि २०७५ असोज १२ गतेको प्रदेश सभा बैठकले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरी जंगलमा राख्ने निर्णयसँगै राजधानी केन्द्रित अतिक्रमणले तीव्रता पाएको हो ।

राजधानी घोषणा हुनुअघि पहाडी क्षेत्रबाट बसाइँ सरेर आएकाहरुले फाटफुट अतिक्रमण गर्ने गरेको गोदावरी क्षेत्रमा पछिल्लो समय भने पेशेवर अतिक्रमणकारी सक्रिय भएका छन् । पछिल्लो एक वर्षमा यहाँ सय विघाभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको छ । पेशेवर अतिक्रमणकारीहरुको सञ्जाल हनुमान मन्दिर क्षेत्र, मसानघाट (गोदावरी आर्यघाट), भालुखोला, चुनेपानी, बासपानी, समाधिगडा र तेघरीको जंगलसम्म फैलिएको छ । गोदावरी सामुदायिक वन आसपासको सरकारी वन क्षेत्र जताततै अतिक्रमित छ । आफू वरपरको सरकारी वन संरक्षणको समेत दायित्व बोकेको गोदावरी सामुदायिक वनका जिम्मेवार व्यक्ति स्वयं अतिक्रमणमा लिप्त छन् । विशाल हनुमान मूर्ति पूर्वको भालुखोलामा केही महिनाअघि डोजर लगाएरै अतिक्रमित क्षेत्र छुट्याइएको छ ।

गोदावरी सामुदायिक वनका अध्यक्षले समेत त्यहाँ जग्गा बनाएका छन् । खुलेर कसैले बोल्न नचाहे पनि अध्यक्षकै संलग्नतामा वनमा डोजर लगाएर रिङरोड नै बनाइएको छ । यस विषयमा गोदावरी सामुदायिक वनका अध्यक्ष दिलबहादुर मडैसँग प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा दुई दिनसम्म पनि फोन उठाएनन् ।

सव–डिभिजन वन अत्तरियाका केही वन रक्षकको प्रत्यक्ष संलग्नतामा गोदावरीको अतिक्रमण भइरहेको बताइएको छ । यिनै वन रक्षकहरुको एजेन्टको रुपमा हनुमान मन्दिर क्षेत्र, भालुखोला, चुनेपानी र बासपानीमा पेशेवर अतिक्रमणकारी सक्रिय छन् । बासपानीका खाली डाँडा घेरबार गर्दै बेच्दै गर्ने क्रम बढेको छ । गत माघयता मात्रै बांसपानीका सबै बुट्यान फाँडेर अतिक्रमणका लागि वन घेरबारको क्रम बढेको छ ।

अत्तरिया, मालाखेती, गुलरिया र धनगढीसम्मका सामान्यदेखि धनाढ्य व्यक्तिले यहाँ भावी घरेडीका रुपमा डाँडाहरु खरिद गरेका छन् । ती डाँडाहरुमा पनि वन रक्षकका भागमा परेका घरेडी रहेको र अहिले त्यसको स्वामित्व एजेन्टहरुसँग नै रहेको स्रोतको दाबी छ । वनदेवी मन्दिर गोदावरीका अध्यक्ष चन्द्रसिं मडै ‘आसमान पहाडी वनरक्षकहरुको वेइमानीका कारण मात्रै गोदावरीको वन क्षेत्र मासिदै गएको बताउँदै आएका छन् । वन अतिक्रमणको विरोध गर्दा आफूले जेलसमेत जानु परेको स्मरण गदै उनले भने, ‘वनका कर्मचारीको गलत नियतले गर्दा नै आज गोदावरीको वन क्षेत्र यो अवस्थामा पुगेको हो ।’ उनी थप्छन्, ‘वन रक्षकहरु मुर्गा, खसी मार्न लगाएर खान्छन्, आर्थिक लाभ पनि लिन्छन् ।’ वन रक्षकहरुको खराब नियतकै कारण वन क्षेत्र बढी जोखिममा रहेको उनको बुझाई छ ।

वर्षौदेखि अत्तरियामा अड्डा जमाएर बसेका केही वन रक्षकहरुले कुनै न कुनै रुपमा अतिक्रमित जग्गामा हिस्सा लिने गरेको स्रोेतले बताएको छ ।’ अतिक्रमण हुने स्थानमा वन रक्षकको भागको घरेडी छुट्याइन्छ श्रोत भन्छ, ‘यसरी छुट्याइएको जग्गा एजेन्टहरुले नै ग्राहक खोजेर बेच्छन् र रकम उनीहरुसम्म पु¥याउँछन् । यिनीहरुलाई अतिक्रमणका लागि जग्गाको जोहोसमेत वनरक्षकले नै गरिदिने गरेको तेघरीका प्रकाश भट्ट बताउँछन् । ‘गोदावरीमा वन रक्षकहरुको यस्तो भूमिका नयाँ होइन । विगतका दिनबाटै गोदावरीमा अतिक्रमणकारीलाई एजेन्टका रुपमा प्रयोग गर्ने, संरक्षण गर्ने गरिएको छ । उनीहरुलाई कुखुरा, बंगुर अधिया पाल्न लगाउने र अधियाँमा अतिक्रमण गराउने काम पनि हुँदै आएको छ ।’

तेघरी सामुदायिक वनका एक जना पूर्वअध्यक्ष पनि अतिक्रमणमा वन रक्षककै भूमिका हुने बताउँछन् । जो सुकै अतिक्रमणकारी किन नहोस्, कुनै न कुनै रुपमा वनरक्षकको संरक्षणमा रहने उनले बताए । ‘मेरो २ कार्यकालमा मात्रै तेघरीको सामुदायिक वन १० विघा जति अतिक्रमण भयो । तर, मैले नियन्त्रण गर्न सकिन ।’ पूर्वअध्यक्षले भने ।

उनका अनुसार नियन्त्रण नगर्न सक्नुको कारण स्थानीय हुनु, व्यक्तिगत सम्बन्ध, सामाजिक सम्बन्ध, राजनैतिक सम्बन्ध र नातागोतासम्म हुनु रहेको पनि उनले बताए । वनरक्षक वा अन्य कर्मचारीको आश्रयबिना सामुदायिक वनले मात्रै अतिक्रमण गर्न नसक्ने अनुभव पनि उनले सुनाए । सुदूरपश्चिम प्रदेशको तथ्यांकले कैलालीमा निजी र संस्थागत अतिक्रमण बढ्दो देखाएको छ ।

कोरोनाको महामारी सुरु हुनु अघिको सरकारी तथ्याकंले कैलालीमा २१ हजार १५४.७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा गरेको देखाएको छ । तर, कोरोनाकालमा भएको अतिक्रमणको कुनै सरकारी तथ्यांक छैन । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बन्दाबन्दीमा अतिक्रमणबारे कुनै तथ्यांक संकलन भई नसकेको बताए । अत्तरिया, गोदावरी क्षेत्रमा अलि अलि अतिक्रमणको खबर आएपछि तत्कालै हटाएको उनले दावी गरे । ‘अहिले सब डिभिजनहरुले आ–आफ्नो क्षेत्र हेरिरहेका छन् । जिल्लामा पनि दुई क्षेत्र भएका छन् ।’ त्यसैले पनि पछिल्लो अतिक्रमणबारे तथ्यांक संकलन भैसकेको छैन, प्रमुख कँडेलले भने । तर, पछिल्लो लकडाउनको अवधीमा जिल्लाको टोलीले राजमार्ग छेउबाहेक वन वनक्षेत्रको कुनै अतिक्रमण नहटाएको सरोकारवालाको दावी छ ।

‘जिल्लामा अतिक्रमणबारे खबर गर्दा टोली त पठाउँछ । तर, यहाँका वन रक्षकहरुले अतिक्रमित क्षेत्रमा जानै नदिएर राजमार्ग छेउछाउ घुमाएर, गोदावरीमा दारुपानी ख्वाएर फिर्ता पठाउँछ ।’ सरोकारवालाहरु भन्छन् । गोदावरीमा सबैभन्दा बढी अतिक्रमण यो बन्दाबन्दीको अवधीमै भएको र सो क्रम आजभोलि पनि जारी रहेको पाइएको छ ।

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु