गृहपृष्ठ कर्णालीमा लागूऔषध कारोबारी बढ्दै

कर्णालीमा लागूऔषध कारोबारी बढ्दै

गत भदौ २० गते कर्णाली प्रदेश प्रहरी कार्यालय, लागूऔषध व्युरो र ईप्रका दल्ली जाजरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले नलगाड नगरपालिका २ जाजरकोट छेप्काबाट १० केजी अफिमसहित दुईजनालाई पक्राउ ग-यो । नलगाड नगरपालिका ३ चावलेचौर बस्ने ४२ वर्षका मन बहादुर विष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ श्रीनगर बस्ने ५५ वर्षका हरिचन्द्र डाँगीको साथबाट प्रहरीले उक्त अफिम बरामद गरेको थियो ।

सोही दिन रुकुमपश्चिम आठबिसकोट नगरपालिका ५ जलीगाडमा नलगाड नगरपालिका ९ बस्ने ३७ वर्षीय प्रेमबहादुर सिंह र सोही स्थान बस्ने मानबहादुर सिंह तथा ३२ वर्षीय तबबहादुर सिंहसहित तीन जनाबाट १६ केजी अफिम प्रहरी टोलीले बरामद गरेको ग-यो । गत असोज १३ गतेसमेत ६.४ ग्राम ब्राउन सुगरसहित सुर्खेत प्रहरीेले चार जनालाई पक्राउ गरेको थियो ।

वीरेन्द्रनगर नगरपालिकाको सुब्बा कुनाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय कर्णाली प्रदेशमा लागूऔषधको कारोबार बढ्दै गएको छ । तराईको बबई नाका तथा कर्णाली प्रवेश गर्ने विभिन्न मुख्य नाकाहरुबाट लागूऔषध प्रवेश हुने गरेको हो । प्रहरीको निगरानी बढेसँगै लागूऔषध प्रयोगकर्ता पक्राउ पर्ने र लागूऔषधका मुद्दासमेत बढ्ने गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ सहित पाँच वर्षमा कर्णाली प्रदेशमा २६९ लागूऔषधका मुद्दा दर्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी सुर्खेत जिल्लामा लागूऔषधका मुद्दा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७३/७४ मा सुर्खेत जिल्लामा २०, जाजरकोटमा ६, रुकुम पश्चिममा ७, सल्यानमा १, जुम्लामा २ र डोल्पामा १ गरी ३७ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ सुर्खेतमा ३५, जाजरकोटमा १, रुकुम पश्चिममा २, जुम्लामा ७, हुम्लामा १ र कालिकोटमा २ गरी ४८ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका सातवटा जिल्लामा गरी ९३ लागूऔषधका मुद्दा दर्ता भएका थिए । सुर्खेतमा ७४, दैलेखमा २, रुकुम पश्चिमा ८, जुम्लामा ५, हुम्लामा १, मुगुमा १ र कालिकोटमा २ गरी ९३ मुद्दा उक्त आर्थिक वर्षमा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभरका सात वटा जिल्लामा गरी ८८ वटा लागूऔषधका मुद्दा दर्ता भएको उनले बताए ।

सो वर्षमा सुर्खेतमा ५४, दैलेखमा ५, रुकुमपश्चिममा ७, सल्यानमा ३, जुम्लामा ६, मुगुमा ११ र कालिकोटमा २ गरी उक्त आर्थिक वर्षमा ८८ वटा लागूऔषध कारोबारका मुद्दा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७७/७८ को असोज महिनासम्म प्रदेशका तीन जिल्लामा गरी तीन वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

सुर्खेतमा १, जाजरकोटमा १ र रुकुमपश्चिममा १ वटा मुद्दा गरी तीन वटा मुद्दा दर्ता भएको बास्तोलाले बताए । ‘तराई क्षेत्रको नजिकको बबई नाका कर्णालीसँग जोडिएको छ,’ उनले भने, ‘कर्णाली भित्रिने विभिन्न नाकाहरुबाट लागूऔषध कारोबारीहरु प्रवेश गर्छन् ।’ उनले पछिल्लो समय प्रहरीको सक्रियतामा लागूऔषध कारोबारीहरु समातिने गरेको बताए । बास्तोलाले प्रदेशभर सबैभन्दा बढी राजधानी सुर्खेतमा मुद्दा दर्ता भएको जानकारी दिए । साथीहरुको लहैलहैमा लागेर र धेरै पैसा कमाउने लोभमा लागूऔषधमा मानिसहरु फस्ने गरेको एसएसपी बास्तोलाले बताए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु