गृहपृष्ठ म्याग्दीका पहिरो पीडितलाई चार लाख २१ हजार रूपैयाँ सहयोग
म्याग्दीका पहिरो पीडितलाई चार लाख २१ हजार रूपैयाँ सहयोग
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरो पीडितलाई चार लाखभन्दा बढी रूपैयाँ आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग संकलन गरी चार लाख २१ हजार १९० रूपैयाँ सहयोग गरेका हुन् । सो सहयोग रकममध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले १० हजार रूपैयाँ सहयोग गरेका थिए ।
सङ्कलित रकम शनिबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताए । राहत रकममध्ये धवलागिरि गाउँपालिका–६ मराङका २१ जना मृतकका आफन्तलाई १२ हजार रूपैयाँका दरले राहत दिइएको छ । त्यसैगरी बाढीपहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई सात हजार रूपैयाँका दरले र आंशिक क्षति भएका १२ जनालाई पाँच हजार रूपैयाँका दरले राहत दिइएको थियो । त्यसैगरी स्थानीय गाउँमा अपाङ्गता भएका पाँच जनालाई एक हजार ५०० रूपैयाँका दरले सहयोग गरिएको छ ।
वितरण गरिएको सहयोग रकम जुटाउन मल्कबाङ घर भएर प्रवासमा रहेका युवा रविन्स घरब्जा छन्त्यालले समन्वय गरेका थिए । छन्त्यालको सक्रियतामा कतारबाट एक लाख ७८ हजार ८०० रूपैयाँ, धन छन्त्यालको सक्रियतामा अष्टेलियामा एक लाख १९० रूपैयाँ, देवेन्द्र छन्त्याल र चित्र छन्त्यालको सक्रियतामा जापानबाट एक लाख २२ हजार ३९३ रूपैयाँ सहयोग संकलन भएको थियो ।
प्रकाशित समय ०९:१८ बजे

















