गृहपृष्ठ महामारीमा ‘विकल्पहीन’ बन्दै वैकल्पिक शिक्षा

महामारीमा ‘विकल्पहीन’ बन्दै वैकल्पिक शिक्षा

भर्चुअल शिक्षा : सर्वेक्षणअनुसार ९२ प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचबाहिर

कलिला बालबालिकाका स-साना समूह । एका बिहानै कोही सार्वजनिक दलान, कोही मन्दिर, कोही खुल्ला रुखमुनि त कोही आफ्नै घरको दलानमा बसेर पढिरहेका देखिए । कोभिड–१९ को महामारीसँगै सुुरु भएको बन्दाबन्दीले विद्यालयहरु लामो समय बन्द रहेपछि धनुषाको सहिदनगर नगरपालिका ४ स्थित निम्न माद्यमिक विद्यालय, हरवाडाका बालविकासदेखि कक्षा ५ सम्मका ३१५ जना विद्यार्थीहरुको दिनचर्या अहिले फेरिएको छ । विद्यालय बन्द हुँदा घरमै बस्ने गरेका विद्यार्थीहरु हिजोआज बिहान ६ बजे नै हातमा कलम, किताब, मुखमा मास्क र बस्नको लागि चट्टाइ लिएर तोकिएको वैकल्पिक कक्षाको शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुँदै आएका छन् ।

बन्दाबन्दीले महिनौंसम्म बालबालिकाको पठनपाठन अवरुद्ध हुने देखेपछि विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण भिनवार चिन्तित भएका थिए । महामारीका बीच पनि शिक्षण सिकाई सुचारु गर्ने केही विकल्प सोचेर उनले आफू मातहतका शिक्षकहरु बोलाएर छलफल गरे । बन्दाबन्दीको समयमा वैकल्पिक माध्यमबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै टोल टोलमा सिमित विद्यार्थी राखेर पठनपाठनका लागि कक्षा सञ्चालन गर्न छलफल चलाउँदा सुरुमा त केही शिक्षकहरु हच्किएका थिए ।

गोरखा जिल्लाको घैरुबतासेबाट ३ वर्ष पहिले सो विद्यालय आएका प्रधानाध्यापक भिनवारले आफूहरुले विद्यार्थीको भविष्यसँग खेलवाड नगर्न र सकेजति पढाउनुपर्ने भनेपछि सबै शिक्षकहरु बैकल्पिक माध्यमबाट पठनपाठन गराउन सहमत भए । प्रधानाध्यापक भिनवार भन्छन्, ‘त्यसपछि त अलिकति उत्साह जाग्यो । शिक्षकहरुकै सल्लाहमा विद्यालयको सेवा क्षेत्र पहिचान गरी १२ वटा वैकल्पिक कक्षाका सेन्टर सञ्चालन गर्ने निर्णय ग-यौं ।’

असार १ गतेदेखि सुरु गरिएको वैकल्पिक कक्षा लगातार दुई महिनासम्म चलेपछि गाउँमै कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि झन्डै एक महिना पढाई बन्द रह्यो । तराई क्षेत्रमा संक्रमण केही कम भएपछि पुनः असोज १ गतेदेखि उस्तै ढंगले कक्षा सञ्चालन गरेको प्रधानाध्यापक भिनवारले बताए ।

एउटा सेन्टरमा भौतिक दूरी कायम गर्दै २० देखि २५ जना विद्यार्थी राखेर कक्षा सञ्चालन हुँदै आएको छ । त्यहाँ पढ्ने विद्यार्थीहरुका लागि मास्क, स्यानिटाइजरको व्यवस्था विद्यालयले नै गरेको छ । मास्क, स्यानिटाइजर खरिद गर्नका लागि सहिदनगर नगरपालिकाले प्रति विद्यालय ५ हजार रुपैयाँका दरले अनुदान दिएको थियो । त्यसबाट रकम अपुग भए विद्यालयले नै थप्ने प्रधानाध्यापक भिनवार बताउँछन् ।

बहुकक्षा शिक्षण पद्धतिअनुरुप चलाइएका यी वैकल्पिक कक्षा हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म चल्छन् । विद्यार्थीहरुलाई दिएको गृहकार्य जाँच गर्ने, होमवर्क दिने र विद्यार्थीहरुले पढेका कुराहरुबारे आन्तरिक परीक्षासमेत लिने गरिएको छ । नगरपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति, वडा अध्यक्ष र सम्बद्ध विद्यालयका प्रधानाध्यापकले बेलाबेलामा यस्ता कक्षा अवलोकन गरी सल्लाह तथा सुझाव दिने गरेका छन् ।

त्यसो त बन्दाबन्दीले विद्यालय, शिक्षण संस्थाहरुमा औपचारिक रुपमा हुँदै आएको शैक्षिक क्रियाकलाप देशभर नै बन्द भएको छ । शिक्षकहरुलाई औपचारिक रुपमा शिक्षण संस्थामा नियमित गएर शिक्षण सिकाई क्रियाकलाप गराउनुपर्ने बाध्यता छैन । यो अवस्थामा लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको एक शैक्षिक सत्र नै खेर जाने र उसको पढ्ने बानी नै छुट्ने चिन्ता स्थानीयको थियो । त्यसैले सहिदनगर नगरपालिकाको शिक्षा शाखाले गएको असार १ गते नगरक्षेत्रका प्रधानाध्यापकहरुको बैठक बोलाएर वैकल्पिक शिक्षाबाट कक्षा सञ्चालन गर्न आग्रह ग-यो । लगत्तै प्रधानाध्यापकहरुले आ–आफ्नै विद्यालयमा बैठक बसेर वैकल्पिक कक्षा सञ्चालन गर्ने तयारी गरेका थिए ।

संक्रमण बढिरहेका बखत वैकल्पिक पठनपाठनको वातावरण बनाउन कोभिड–१९ लाई लक्षित गरी नगरपालिकाले आफ्नो क्षेत्रका ३२ सामुदायिक विद्यालयका सबै शिक्षकहरुको १/१ लाखको कोरोना बिमासमेत गरिदिएको थियो । प्रत्येक विद्यालयलाई वैकल्पिक कक्षा सञ्चालनका लागि मास्क, सेनिटाइजरलगायतको आवश्यक सुरक्षा सामाग्री खरिदका लागि ५ हजार रुपैयाँका दरले अनुदान दिएको नगरप्रमुख उदयकुमार बरवरियाले बताए ।

विद्यालय बन्द रहेको बेला विद्यार्थीहरु बिना किताबको के पढ्ने, के नपढ्ने भनेर अन्यौलमा परेकाले नगरपालिकाले बैशाख महिनाको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्रै आफ्नो पालिकाका सबै विद्यार्थीहरुको हात हातमा शैक्षिक सामग्री (पाठयपुस्तक) उपलब्ध गरायो । धनुषाका १८ वटा स्थानीय तहमध्ये सबैभन्दा पहिले सहिदनगर नगरपालिकामा कक्षा १ देखि ५ सम्म, ६ देखि ८ सम्म र ९ र १० कक्षाका विद्यार्थीहरुलाई नगरपालिकाले नै खरिद गरी विद्यालयमार्फत् भौतिक दूरी कायम गराई विद्यार्थीहरुको हात हातमा उपलब्ध गराएको उनको भनाइ छ ।

वैकल्पिक कक्षा सुरु गर्नुको मुख्य आधार भने विद्यालयहरुले आफ्नो सेवा क्षेत्रमा गरेको सर्वेक्षणमा ९२ प्रतिशत विद्यार्थी र अभिभावक भर्चुअल शिक्षाका माध्यम टिभी, रेडियो, इन्टरनेटको पहुँचबाहिर रहेको देखाएको थियो । सर्वेक्षणको नतिजा आएपछि बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीलाई वैकल्पिक कक्षा र ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट शिक्षण सिकाई गराउने लक्ष्य रहेको भए पनि इन्टरनेट कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधारको समस्या रह्यो । अहिले इन्टरनेट कक्षा सञ्चालनका लागि भौतिक पूर्वाधारको सहयोग नगरपालिकाबाट माग गरिएको वडा नम्बर–३ स्थित जनता एकाई प्राविधिक माध्यमिक विद्यालय यदुकोहाका प्रधानाध्यापक प्रमोदकुमार कर्णले बताए ।

अधिकांश विद्यार्थीहरु प्रविधिको पहुँचबाट टाढा रहेकाले गर्दा वैकल्पिक शिक्षाअन्तर्गत एक समूहमा २० जना विद्यार्थी राखेर टोल टोलमा कक्षा सञ्चालन गर्ने विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरुबीचको सहमतिले सहिदनगर नगरपालिकाका ३५० शिक्षकले नगरका कुल ४ हजार ५ सय विद्यार्थीहरुलाई असार १ गतेदेखि पढाउने थालेपछि आफूहरुले पटकपटक कक्षाको अवलोकन गरी सल्लाह सुझाव दिएकोे शिक्षा शाखाका स्रोत व्यक्ति धनेश्वर यादवले बताए ।

वैकल्पिक कक्षाको अनुगमन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक र सोही वडाका वडाध्यक्षलाई लिएर कक्षा अवलोकन र निरीक्षण गरी सल्लाह सुझाव दिदै आएको स्रोत व्यक्ति यादवले बताए । यता, धनुषाको सबैला नगरपालिकामा साउन १ गते बसेको प्रधानाध्यापकहरुकोे बैठकबाट पालिकामा ३ मदर्सासहित १६ सामुदायिक विद्यालयका विद्यार्थीलाई समेट्ने गरी वैकल्पिक कक्षा सञ्चालन गर्ने निर्णय गरियो ।

सबैलाको कमलामाई प्राथमिक विद्यालय ढोलबज्जाका प्रधानाध्यापक जिवछ यादवको संयोजकत्वमा साउन २ गते बसेको बैठकबाट आफ्नो विद्यालयमा अध्ययनरत २४१ जना विद्यार्र्थीहरुलाई पायक पर्ने गरी तीन वटा टोलमा वैकल्पिक कक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो । कमलामाई प्राथमिक विद्यालयका शिक्षक प्रमिलाकुमारी साहको संयोजनमा मुसहरी टोल, शिक्षिका सोभिता यादवको संयोजनमा ढोल बज्जाको सार्वजनिक दलान र शिक्षिका संगीताकुमारी कामतीको संयोजनमा पर्साही टोलमा कक्षा सञ्चालनको जिम्मेवारी दिइएको छ ।

सुरुमा शिक्षकहरु टोल टोलमा गएर बिहान ७ बजेदेखि १० बजेसम्म दैनिक ३ घण्टाको दरले एक समूहमा २५ जना विद्यार्थीलाई पढाउने लक्ष्य लिएका थिए । तर, कक्षा सञ्चालन भएपछि समुदायका विद्यार्थीहरुको चाप खेप्न नसकेर एउटा सेन्टरमा ४० देखि ५० जना विद्यार्थीहरु आउन थालेको शिक्षिका प्रमिला साहले बताइन् । कमलामाई प्राथमिक विद्यालयले २९ दिन कक्षा सञ्चालन गरेपछि कोरोना संक्रमितहरुको संख्या बढेको र पालिकामै एकजना व्यक्तिको मृत्यु भएपछि कक्षा बन्द गर्नुपर्ने बाध्यता परेको विद्यालयका प्रधानाध्यापक जिवछ यादवले बताए ।
उता श्रीआधारभूत विद्यालय किरतपुरका प्रधानाध्यापक पवन महतोको संयोजकत्वमा बसेको बैठकले विद्यालयको लक्षित क्षेत्रको ६ टोलमा केन्द्र कायम गरी कक्षा सञ्चालन गर्ने निर्णय ग-यो ।

किरतपुर महतो टोलमा शिक्षिका विभा सिंह, थानतोल टोलको सेन्टरमा कौशिला कुमारी, अजबटोल किरतपुरमा शिक्षक अजयकुमार यादव, कुटिटोलमा रामकुमारी महतो र परसाही टोलको सेन्टरमा गंगाराम यादवलाई शिक्षण सिकाईको जिम्मेवारी दिइयो । टोलमै सञ्चालित ती वैकल्पिक कक्षामा बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई भौतिक दूरी कायम हुने गरी मास्क लगाएर आउने गरेका थिए ।

कक्षा अवलोकनका लागि विद्यालयका प्रधानाध्यापक पवन महतो आफैं केन्द्रहरुमा पुगेर समस्याहरुबारे बुझ्ने गरेको बताए । विद्यालयले टोल टोलमा कक्षा सञ्चालन गरेपछि विद्यार्थी र अभिभावकहरुले आफूहरुलाई साथ र सहयोग गरेको प्रधानाध्यापक महतोले बताए । उनले भने, ‘हामीले टोल टोलमा सेन्टर कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि अभिभावकहरुले ठाउँ उपलब्ध गराए अनि विद्यार्थीहरुलाई सरसफाई गराइ मास्क तथा बस्नको लागि घरबाटै बोरा, चटाइलगायतको सामग्री दिएर पठाएका छन् ।’ सेन्टरमा शिक्षकले बहुकक्षा शिक्षण गर्छन् भने हरेक विद्यार्थीहरुलाई गृहकार्य गर्न दिने र जाँच्ने काम गरेका छन् ।

सबैला नगरपालिकामा पनि विद्यार्थीहरुलाई कक्षाअनुसारको पाठयपुस्तकका साथै अतिरिक्त पाठयसामग्रीसमेत दिइएको छ । शिक्षा क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मान्यता प्राप्त ‘असर अभ्यास पुस्तिका’ र ‘अभिभावकको सहयोग घरमै सिकाउन सकिने क्रियाकलाप’ नामक अतिरिक्त पाठ्यसामाग्री हुन् । सेन्टरमा विद्यार्थीहरुलाई विद्यालयको पाठ्यपुस्तकलगायत अतिरिक्त अभ्यास पुस्तिकासमेत पढाउँदै आएको सामाजिक अभियन्ता आनन्द साहले बताए । यसरी नियमित कक्षा सञ्चालन भएपछि फुर्सदमा जथाभावी खेल्ने, माछा मार्न जाने, जथाभावी घुम्नेलगायतका विद्यार्थीहरुको बानी सुध्रिएको अभिभावक विजय महतोले बताए ।

‘केही समयदेखिको मेरो छोराको व्यवहारमा परिवर्तन आएको छ । बिहानै उठेर पढ्ने, गृहकार्य गर्ने गर्छ अनि नुहाएर ११ बजेदेखि सञ्चालन हुँदै आएको कक्षामा सहभागी हुन जान्छ,’ उनले भने । पछि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको पाएपछि कक्षा बन्द भयो । तर, अहिले फेरि घरमै बस्दा छोराको सुध्रिएको पढाई लेखाइ अनियमित भएको उनले बताए ।

सबैला नगरपालिका ४ को जरहैया टोलको गुलसन मदिना मदर्सामा भने नियमित रुपमा पढाईलेखाई हुँदै आएको छ । मदर्सामा पढ्ने करिब एक सय विद्यार्थी बिहानै मदर्सामा आएर भौतिक दूरी कायम गरेरै पठनपाठन गर्छन् । मदर्साकी शिक्षिका शोभा महतोले अभिभावकहरुले नियमित रुपमा विद्यार्थी पठाउँदै आएकाले आफूहरुले विद्यार्थीको पढाईलेखाई कहिल्यै बन्द नगरेको बताइन् ।

जनता माध्यमिक विद्यालय मिथिला नगरपालिका–२ नक्टाझिजले भदौ २८ गते बैठक गर्दै कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई बिहान ८ बजेदेखि ४ वटा सेन्टरमा पढाउने निर्णय गरि कक्षा सञ्चालन गर्दै आएको छ । स्थानीय एभरेष्ट युवा क्लव, शिक्षक हरिनारायण महतोको घर, वडा नं. ५ को सामुदायिक भवन र अरहुला राष्ट्रिय आधारभूत विद्यालयमा वैकल्पिक कक्षा सञ्चालन भैरहेको छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुका लागि बिहान साढे १० देखि राष्ट्रिय आधारभूत विद्यालय नक्टाझिज–५ मा कक्षा सञ्चालन हुँदै आएको विद्यालयका निमित्त प्रधानाध्यापक श्यामकुमार यादवले बताए । विद्यालयमा नियमित रुपमा सबै विद्यार्थीहरुलाई एकपटक एउटै ठाउँमा राखेर पढाउन नसकिने भएकाले वैकल्पिक कक्षाहरुमार्फत् शिक्षण सिकाईको सुरुवात गर्नुपरेको उनको भनाइ छ । वैकल्पिक कक्षा सञ्चालनका लागि अभिभावकहरुको राम्रो साथ–सहयोग रहेको शिक्षक मनोजकुमार महतोले बताए । यसैले कक्षामा विद्यार्थीहरुको उल्लेख सहभागिता हुँदै आएको उनको ठहर छ ।

विद्यालयका प्रअ र शिक्षकहरुको सक्रियतामा कोभिड–१९ को महामारीको बेलामा बैकल्पिक माध्यमबाट कक्षा शिक्षण हुँदा आफूहरुलाई निकै खुुसी लागेको हिमालय युवा क्लबका अध्यक्ष अरुणकुमार महतोले बताए । अहिले बन्दाबन्दीले गर्दा ठप्प भएका शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यालयका शिक्षकहरुले पहल गर्न सकेको खण्डमा विद्यार्थीहरुको व्यवहारमा परिवर्तन भई बिहान बेलुका भए पनि घरमा पढ्ने र वैकल्पिक कक्षाबाट शिक्षण सिकाई हुनेमा आफू विश्वस्त रहेकोे बताउँदै उनले भने, ‘यस्ता वैकल्पिक कक्षाहरु जिल्लाभरका सबै विद्यालयमा लैजान आवश्यक छ ।’

भर्चुअल र वैकल्पिक कक्षा सँगसँगै

जनकपुरधाम उपमहानगरपालिका ८ स्थित याज्ञवल्क्य संस्कृत नमूना माद्यमिक ज्ञानकूपले भने असोज १ गतेदेखि कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई अनलाइन प्रविधिमार्फत् पठनपाठन गराउँदै आएको छ । यद्यपी त्यस्ता इन्टरनेट कक्षामा सबै विद्यार्थीको पहुँच छैन । त्यसैले इन्टरनेट, मोबाइल, ल्यापटपसहितका उपकरण नभएका गरिब तथा विपन्न परिवारका विद्यार्थीका लागि भने शिक्षकहरुले असोज ९ गतेदेखि टोल टोलमै पढाउन थालेका छन् । शिक्षा विभागले आफ्नो वेबसाइटमा राखेको वैकल्पिक कक्षाको पाठ्यक्रमअनुसारको पाठ्यसामग्री आफूहरुले प्रिन्ट गरी किताब बनाएर भदौको अन्तिम हप्तामै वितरण गरिसकेको विद्यालयका प्रधानाध्यापक सञ्जय झाले बताए ।

याज्ञवल्क्य विद्यालयकै बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन प्रधानाध्यापक सञ्जयकुमार झासहित शिक्षकहरुको समूह विद्यार्थीहरुको घरघरमा पुग्ने गरेको छ । त्यसक्रममा कक्षा शिक्षणका भिडियो रेकडिङ, नोटहरुसमेत निःशुल्क वितरण भइरहेको प्रधानाध्यापक झाले बताए । समुदायमै पुगेर अनलाइनबाट पढाई लेखाई हुने भन्दै विद्यालयले नयाँ भर्नासमेत खोलेको छ ।

शिक्षकहरु घरमै आएर विद्यार्थीहरुलाई पढाउन थालेपछि आफूहरुलाई निकै खुसी लागेको अभिभावक महेश साहले बताए । लकडाउनले आर्थिक समस्या भएर छोरालाई ट्युसनसमेत पढाउन नसक्ने अवस्थामा शिक्षकहरु घरमै आएर पढाउन थालेपछि आफूहरुलाई राहत महसुस भएको साहको अनुभव छ । तर, वैकल्पिक कक्षाका सेन्टर कायम गरी पढाउने वा नपढाउने कुरामा आफूहरु अन्यौलमा रहेको माध्यमिक बुहप्राविधिक विद्यालय मुलावारीका प्रधानाध्यापक प्रदिप सिंहले बताए । उनले भने, ‘हामीलाई कक्षा शिक्षण सिकाई क्रियाकलाप नगर्नु भनेर पालिकाको शिक्षा शाखाले नै औपचारिक रुपमा परिपत्र गरेको छ । लकडाउन र जिल्लामा भएको निषेधाज्ञाका कारणले कोभिड १९ को समयमा आएर शिक्षकहरुले विद्यार्थी पढाउन नसक्ने अवस्था भएपछि प्राविधिकतर्फका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाउँदै आएका छौं ।’

पालिकाले हामीलाई विद्यालय चलाउन अनुमति मात्रै दिएको खण्डमा फरक–फरक समयमा वा, जोर÷विजोर गरी कक्षा सञ्चालन गर्न सकिने उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ धनुषा प्रमुख बरखुप्रसाद रजकले धनुषाको सहिदनगर नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, जनकपुरधाम उपमहानगरपालिकालगायतले कोभिड १९ को समयमा वैकल्पिक कक्षाहरु सञ्चालन गरेको जानकारी दिए । कुनै पनि पालिकाले औपचारिक रुपमा शिक्षा विकास तथा समन्वय इकाइमा लिखित जानकारी नगराएको भए पनि शिक्षक, विद्यालय, स्थानीय तह र शिक्षाका अधिकारीहरुले वैकल्पिक कक्षा सञ्चालन गर्ने निर्णयको माइन्युट, कक्षाको फोटो र अनुगमनका समाचार सामाजिक सञ्जालमा पोष्ट गरेको देख्दा खुसी लागेको बताए । उनले भने, ‘म आफैंले पनि मुसहरनियाको तुलसीयाही, धनुषाधाम नगरपालिकाको धारापानीलगायतका केही पालिकाहरुमा अनुगमन गरेँ । कोभिड–१९ कोे प्रभाव रहुञ्जेलसम्म यस्तै वैकल्पिक कक्षा शिक्षण गर्नुको विकल्प छैन ।’

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु