गृहपृष्ठ सुदूरपश्चिमका तीन विमानस्थलमा नियमित उडानको तयारी
सुदूरपश्चिमका तीन विमानस्थलमा नियमित उडानको तयारी
बैतडीको पाटन विमानस्थल ।
सुदूरपश्चिमका तीन विमानस्थलमा साप्ताहिक उडान हुने भएको छ । यसका लागि तीनवटै विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको छ ।
लामो समयदेखि बन्द रहेका बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए । उनका अनुसार तीनै विमानस्थलमा टावर र अन्य उपकरण जडान नभएका कारण तत्कालका लागि भीएचएफ प्रणालीबाट उडान सञ्चालन गर्ने तयारी भएको छ । उनका अनुसार बझाङका लागि हरेक मंगलबार र बाँकी दुई स्थानमा भने चार्टर्ड उडानको तयारी भइरहेको हो ।
गत शनिबार परीक्षण उडान गरिएका तीनवटै विमानस्थलमा समिट एयरले नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ । समिट एयरले धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्ने जनाइएको छ । समिट एयर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लका अनुसार मंगलबार धनगढी-बझाङ उडान हुनेछ । यसैगरी बैतडी र डोटीमा समेत चार्टर्ड उडान भर्ने तयारी रहेको छ ।
बैतडी र डोटीका लागि यात्रुहरुको चापलाई हेरेर मात्र नियमित उडानको विषयमा टुंगो लाग्ने समिट एयरले जनाएको छ । धनगढी-बझाङ ५ हजार ४८ र धनगढी-बैतडी ३ हजार ८ सय दुई रुपैयाँ भाडा तोकिएको धनगढी विमानस्थल प्रमुख बुढथापाले जानकारी दिए ।
प्रकाशित समय १२:४९ बजे

















