गृहपृष्ठ प्रदेश–२ मा १२ हजार संक्रमित संक्रमणमुक्त
प्रदेश–२ मा १२ हजार संक्रमित संक्रमणमुक्त
प्रदेश–२ मा कोभिड–१९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कुल संक्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये संक्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।
प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा संक्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए । यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ । संक्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एक हजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।
गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा संक्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको संक्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा संक्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा संक्रमणले मर्नेको संख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउँछन् ।
महामारीले वैशाखमा ९२, जेठमा एक हजार ९१९, असारमा एक हजार ८९७ र साउनमा तीन हजार ५४ जनामा संक्रमण पुष्टि भएको अभिलेख छ । त्यसैगरी असोजमा दुई हजार माथि संक्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक अभिलेखले देखाएको छ । (रासस)
प्रकाशित समय ०७:३१ बजे

















