गृहपृष्ठ आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
दसैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । दसैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा पूजा गरिँदै छ । अन्य वर्षहरूमा यस दिन दर्शनार्थीहरूको भीड लाग्ने भए पनि यस वर्ष कोरोना महामारीका कारण सुनसान छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा भइरहेको छ । यसैगरी धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि पूजा गरिँदै छ ।
नवरात्रको तेस्रो दिन महामायाको तेस्रो स्वरुप भगवती चन्द्रघण्टा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ । अर्धचन्द्र भएकी माता चन्द्रघण्टाको स्मरणद्वारा सांसारिक सुखभोगको इच्छा पूर्ण भई जीवनबाट मुक्ति मिल्ने विश्वास छ ।
१० भुजाले युक्त सिंहवाहिनी चन्द्रघण्टा देवी पीत वर्णले आभासित हुनुहुन्छ । यिनको स्मरणले इच्छा र आशाको द्वन्द्वबाट छुटकारा मिल्छ । उपासकमा शान्तभावको पालना गरी निरन्तर पूजन, ध्यान र चिन्तन गर्नु आवश्यक छ । नवरात्रको यस दिनमा करुणामूर्ति देवीको आराधना गर्ने प्रचलन अत्यन्त सारगर्भित छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान मणिपुर चक्रमा केन्द्रित हुन्छ ।
प्रकाशित समय १२:२६ बजे

















