गृहपृष्ठ किशोरीलाई करणी गरेको अभियोगमा तीन जना पक्राउ
किशोरीलाई करणी गरेको अभियोगमा तीन जना पक्राउ
दुई जना किशोरी र एक बालिकालाई करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । झापा, सिरहा र धनुषामा भएका करणीका घटनामा तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
झापामा ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका २ लालमाटी बस्ने २५ वर्षीय रतन राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।
धनुषामा १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका १३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सिरहामा १४ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका ३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (रासस)
प्रकाशित समय १४:२५ बजे

















