गृहपृष्ठ नेपालगन्जमा मोहम्मद डेको हर्षोल्लास
नेपालगन्जमा मोहम्मद डेको हर्षोल्लास
फाइल तस्बिर
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगन्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ । नेपालगन्जका विभिन्न स्थान बेलुन, झण्डा, बत्तीसहित सिंगारिएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहानैदेखि शहरका चोक-चोकमा झाँकी र बाजागाजासहित प्रदर्शन गरिरहेका छन् ।
बाँकेका इस्लाम समुदायका धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन सबै इस्लाम धर्मावलम्बीमा आग्रह गरिएको धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । उनले कोरोना भाइरस संक्रमणबाट आफू सुरक्षित राख्दै चाडपर्व मनाउन नेपालगञ्जवासीमा अपिलसमेत गरेका छन् ।
जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सजकताका साथ पर्व मनाउनुपर्ने बताउँदै हालै सम्पन्न भएको दसैँलगायतका अन्य चाडपर्वमा देखिएको सद्भाव र सामाजिक एकतालाई मोहम्मद डेमा पनि कायम राख्न सबैमा अनुरोध गरे ।
इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनका अनुसार आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
‘हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो,’ धर्मगुरु मञ्जरीले भने, ‘उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।’ मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
प्रकाशित समय १५:२९ बजे

















