गृहपृष्ठ नख्खु जेल ब्रेकर पूर्वसांसद वीरबहादुर लामाको निधन

नख्खु जेल ब्रेकर पूर्वसांसद वीरबहादुर लामाको निधन

मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’का ‘जेल ब्रेकर’का रुपमा चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि डायलासिस गर्दै आएका थिए । उनको आइतबार बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन् ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समिति (जिविस)का सभापति बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए ।

२०६२ र ६३ सालको जनआन्दोलनपछि पुन:स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जातीय पहिचान सहितको राज्य निर्माणको विषयमा पार्टीभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु