गृहपृष्ठ सडक बनेपछि विरक्तिएका ‘घट्टबाजे’ अहिले दंग
सडक बनेपछि विरक्तिएका ‘घट्टबाजे’ अहिले दंग
गाउँघरमा अन्न पिस्ने साधन हो घट्ट । झट्ट सुन्दा सहरमा पनि घट्ट हुन्छ भन्ने कसैले कसैले गर्दैन । पानीको बेगले चल्ने घट्ट गाउँघरमा खोलाको छेउछाउमा बनाइन्छ । केही वर्ष अघिसम्म सहरी क्षेत्रमा अन्न कुटानी पिसानीका लागि मिल स्थापना भइसक्दा पनि गाउँघरमा भने घट्टकै प्रचलन थियो । तर हिजोआज गाउँमा समेत घट्ट लोप हुँदै गएका छन् । मानिसहरु खेती गर्ने छाडे । बजारका पसलबाट चामल र पिठो किनेर खान थाले । पछिल्लो पिँढीलाई घट्ट के हो ? भन्ने थाहा हुन छाडिसकेको छ ।
बिस्तारै घट्ट लोप हुँदै गए पनि सुर्खेतको वीरेन्द्रनगर- ४, खोर्केका ‘घट्ट बाजे’ले भने १६ वर्षदेखि इतिहासको संरक्षण गर्दै आएका छन् । उनले आफ्नो जीविकोपार्जनसहित अन्न कुटानीपिसानीको परम्परागत विधिलाई संरक्षण गर्दै आएका हुन् । दैलेखबाट २०३४ सालमा बसाई सरी आएका तिलकराम चालिसेलाई कर्णाली प्रदेश राजधानीवासीले ‘घट्ट बाजे’ भनेर चिन्ने गरेका छन् ।
आफू दैलेखबाट वीरेन्द्रनगर- ४ भैरवस्थानमा भैंसी पालन गर्नका लागि आए पनि नजिकै बग्ने खोर्के खोलाको पानीबाट घट्ट चलाउँदै आएको उनी बताउँछन् । ‘धेरै महिना त पानी नहुने भएकाले चलाउन सकिँदैन । तर, थोरै महिना चले पनि राम्रोसँग चल्छ,’ चालिसे भन्छन् । घट्टबाटै ६ जनाको परिवारलाई राम्रोसँग खान लगाउन पुग्ने गरेको उनले बताए ।
सुर्खेत उपत्यकामा पर्ने वीरेन्द्रनगरका प्राय सबै वडाबाट मानिसहरु घट्टमा अन्न पिस्न आउने गरेको उनले बताए । चालिसेकी श्रीमती कौशिलाले पनि उनलाई घट्टमा काम गर्न सघाउँछिन् । ‘करिब तीन महिना मात्रै घट्ट चल्छ,’ उनले थपे, ‘तर यो तीन महिना बुढाबुढीलाई भ्याइनभ्याई हुन्छ ।’ घट्ट चल्ने महिनामा चौबिसै घण्टा काम हुने उनले बताए । चालिसेका अनुसार घट्टमा अन्न पिसेबापत पैसाभन्दा अन्न नै लिने गरिन्छ । उनले पाँच पाथी अन्न पिसेबापत तीन माना अन्न लिने गरेका छन् ।
ऋण गरेर बसाएको बस्ती
चालिसे २०३४ सालमा दैलेखको लेखतोलीबाट बसाई सरिआएका हुन् । बस्तुभाउ पाल्ने उद्देश्य लिएर सुर्खेत झरेका उनी उपत्यकाको कुनामा जंगल क्षेत्रमा बसे । जसले आफूलाई दोहोरो फाइदा भएको बताउँछन् । उनी आफू एक्लै दैलेखबाट आई करिब एक बिगाह जमिन ऋण गरेर किने अनि बस्ती बसाले । अहिले उक्त क्षेत्रमा करिब बीस घरपरिवारको बसोवास छ । सबै चालिसेका आफन्त हुन् । ‘मैले उ बेलामा १६ हजारमा एक बिगाह जमिन किनेर बस्ती बसालेको हुँ । आफ्नो घर एक्लै भएपछि ऋण गरेरै आफन्तलाई सुर्खेत झारेँ,’ उनले भने ।
आँगनमै पैदल मार्ग र प्रादेशिक सहिद पार्क
तिलकरामको आँगनमै सुर्खेतबाट दैलेख, कालिकोट, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाका नागरिक ओहोरदोहोर गर्ने गोरेटो बाटो पर्छ । अध्ययन तथा हाटबजार जानका लागि आउनेजानेहरु गोरेटोबाटो हिँड्दा उक्त क्षेत्र गुलजार थियो । तर, सुर्खेत-दैलेख सडकखण्ड सञ्चालनमा आएपछि भने आँगनकै गोरेटोबाटोमा पैदलयात्रीहरु बिस्तारै घट्दै जाँदा चालिसेलाई नरमाइलो लाग्थ्यो ।
तर अहिले कर्णाली प्रदेश सरकारको पहलमा पैदलमार्ग र प्रादेशिक सहिद पार्क निर्माण हुँदैछ । दुई दशकदेखि शुन्य भएको उक्त गोरेटो बाटो अहिले पैदलमार्गको रुपमा विकास भएपछि चालिसे दंग छन् । ‘दैलेखबाट बसाई सरेपछि धेरै हटारुलाई मैले भात खुवाएँ,’ उनले विगत सम्झिए, ‘दैलेख, जुम्ला, हुम्ला, कालिकोटका मानिसहरु यही बाटो हिँड्थे ।’ चालीस वर्षदेखि शुन्य जस्तै भएको उक्त क्षेत्रमा प्रादेशिक सहिद पार्क तथा बोटानिकल गार्डेन र पैदलमार्ग निर्माण सुरु भएपछि चहलपहल पनि बढेको चालिसे बताउँछन् ।

प्रकाशित समय ०८:४१ बजे

















