गृहपृष्ठ पूर्वमन्त्री अफताबका भाई महताब आलम भारतबाट पक्राउ
पूर्वमन्त्री अफताबका भाई महताब आलम भारतबाट पक्राउ
रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम प्रकाउ परेका छन् ।
पक्राउपछि उनले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रदेश- २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रारम्भिक अनुसन्धानमा महताबले आफ्ना दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका छन् ।
पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ महताब चैत २६ गतेदेखि नै फरार थिए । उनलाई प्रहरीले आइतबार राति भारतको मोतीहारीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । यद्यपि, प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले महताबलाई सीमा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए ।
पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका-४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका-४ का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ ।
प्रदेश-२ प्रहरीका अनुसार महताबले दाजुको निर्देशनमा विष्फोटका घाइते र मृतकलाई ट्याक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन् ।
प्रकाशित समय ०८:४९ बजे

















