गृहपृष्ठ जोखिमयुक्त स्थानमा बसोबास गरेर ‘हामी जोखिममा छौ’ भन्ने ?

जोखिमयुक्त स्थानमा बसोबास गरेर ‘हामी जोखिममा छौ’ भन्ने ?

विपदबाट नागरिकलाई बचाउन सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राकृतिक रुपमा नै जोखिमयुक्त स्थानमा बसोबास गरेर ‘हामी जोखिममा छौ’ भन्न नागरिकले नमिल्ने उनीहरुले बताएका हुन् ।

कार्यक्रममा सहभागी नेपाल नेत्रहीन संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेशकुमार खड्काले खोला च्यापेर बसेकाहरुले ‘हामी खतरामा छौं’ भन्न नमिल्ने बताए । ‘आफैँ जोखिमयुक्त स्थानमा गएर बस्ने । त्यसपछि सरकारलाई म विपदमा परेर मर्दैछु भन्न सुहाउँदैन,’ उनले भने । जनसुरक्षाका लागि सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने खड्काले धारणा राखे । खोलाको छेउछाउका बसोबासलाई हटाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्थासमेत सरकारले गर्नुपर्ने खड्काले बताए ।

नेपाल रेडक्रस सोसाइतीका सभापति रामलाल आचार्यले समेत आफ्नो जीवन जोखिममा भएको जान्दाजान्दै त्यस्तो स्थानमा बसोबास गर्न नहुने बताए । ‘भोकले कोही मर्दैन । तर प्राकृतिक बिपद्बाट बच्नलाई सुरक्षित स्थानमा बसोबास गर्नुपर्छ,’ उनले भने । आचार्यले विपदबाट नागरिकलाई बचाउनको लागि सरकारले पूर्वतयारी कार्ययोजना बनाउनुपर्ने सुझाव दिए । ‘कर्णाली प्राकृतिक विपद्को उच्च जोखिममा छ,’ उनले भने, ‘यसमा प्रदेश सरकारले पूर्वतयारी कार्ययोजना निर्माण गरी अगाडि बढ्नुपर्छ ।’

मंगलबार गैरसरकारी संस्था महासंघ नेपालको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्रबहादुर केसीले सरकारका तर्फबाट प्राकृतिक विपद्मा परेकाहरुलाई राहतको काम भइरहेको बताए । विपदबाट जोगाउन पूर्वतयारीका कामका लागि प्रयासहरु समेत प्रदेश सरकारका तर्फबाट भएको उनले जानकारी दिए ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु