गृहपृष्ठ नागरिकलाई कोभिडबाट बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ : सञ्चारमन्त्री
नागरिकलाई कोभिडबाट बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअल रुपमा बुधबार उद्घाटन गर्दै उनले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको स्पष्ट गरे ।
‘सरकार मानवअधिकार सुनिश्चित गर्न चाहन्छ, सधैँ सबै नागरिक सुरक्षा, शान्ति र प्रगतिका लागि काम गरिरहेको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘मानवअधिकार सुरक्षित गर्न सरकार सदा तयार छ, नागरिकले बाँच्नु पहिलो कुरा हो, मानवअधिकार हननका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने त छँदैछ, अहिले कोभिडबाट बाँच्ने बचाउने कुरा मुख्य छ, त्यसबाट बचाउनका लागि सरकारले भरपूर प्रयास गरिरहेको छ ।’ उनले अहिले कोभिडको खोप पनि आउन लागेकामा खुशी व्यक्त गर्दै विकसित, विकासोन्मुख, अल्पविकसित र विकासोन्मुख देशले पनि खोपबाट लाभ लिन सकून् भन्नेमा सबै मानवाधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए।
मुलुकको विकासका र समृद्धिका लागि सरकारले गर्नुपर्ने कामका सूची उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै उनले समाजका सबैले मानवअधिकारको सूचना पाउने हकको उपभोग गर्न इन्टरनेट सेवालाई गाउँ-गाउँ र जनता-जनताबीच पुर्याहउने अभियानमा सहयोग गर्न आग्रह गरे । ‘डिजिटल नेपालको अभियान नेपाल सरकारले ल्याएको छ, सूचना प्राप्त गर्नु पनि जनताको अधिकारको कुरा हो,’ मन्त्री गुरुङले जोडे, ‘त्यो अभियानमा मानवअधिकारकर्मीलाई पनि लाग्न र सहयोग गर्न आग्रह गर्छु ।’ सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले मानवाधिकारको सचेतना जगाउन र घर-घरमा मानवाधिकार पुर्यालउन काम गरिरहेको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ योजनाको नीति तथा कार्यक्रम मानवाधिकारमा आधारित विकासका दस्तावेज भएको उल्लेख गर्दै विकास, सामाजिक रुपान्तरणसँग जोडिएको जानकारी दिए । मानव अधिकार महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईंले मानवाधिकार हरेक नागरिकको घरघरमा लैजाने तथा शान्ति सम्झौताका बाँकी कुरा पूरा गर्ने उद्देश्यले महाभेलाको सुरुआत गरिएको बताए ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, महिला अधिकारकर्मी डा. रेणु अधिकारीलगायतले विश्वमा निर्मित कोरोना खोप नेपालमा सुलभ र सहज रुपमा ल्याई मानवाधिकार रक्षाका लागि लाग्न आग्रह गरेका छन् ।
नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेजले विश्वभरि कोभिडका कारण मानवाधिकार संकटमा परेको हुँदा सबैले मिलेर रक्षा गर्नुपर्ने धारणा राखे । तेजाबपीडित मुस्कान खातुनले तेजाब आक्रमणमा परेका महिलाको अधिकारको रक्षा गर्न बनेको कानूनको प्रभावकारी कार्यान्वयन गरी समाजमा चेतना ल्याउनुपर्ने माग गरेका छन् । सो अवसरमा मानवाधिकारसम्बन्धी वेबसाइट www.hrmagmeet.com समेत उद्घाटन गरिएको थियो ।
मानवाधिकार महाभेला सम्मान घलेलाई
महाभेलाले मानव अधिकार राष्ट्रिय महाभेला सम्मान २०७७ सामाजिक न्यायका लागि निरन्तरण काम गरेका भद्रमान घलेलाई प्रदान गरेको छ । त्यस्तै पद्मरत्न तुलाधर राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार २०२० द्वारा पूर्वसभामुख तथा मानवअधिकारकर्मी दमननाथ ढुंगानालाई ५० हजार रूपैयाँ र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ भने शान्तलक्ष्मी श्रेष्ठ राष्ट्रिय महिला मानवअधिकार पुरस्कार, २०२० रोक्का मगरलाई प्रदान गरिएको छ । उक्त पुरस्कार छनोट समितिका संयोजकमा समाजकल्याण परिषद्का उपाध्यक्ष डा. पद्मप्रसाद खतिवडा थिए ।
बहत्तरौँ अन्तराराष्ट्रिय मानवअधिकार दिवस ‘रिकभर बेटर स्टयाण्ड फर ह्युमन राइटस’ भन्ने अन्तरराष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ देशभर मनाइने भएको छ । महाभेलाको पाँचदिने कार्यक्रमको पहिलो दिन आज उद्घाटन गरी सुरु गरिएको हो । महाभेलाका संयोजक गोविन्दबहादुर शाहीले कोभिडका कारण नेपालमा पनि साढे दुई लाख मानिस संक्रमित र एक हजारभन्दा बढीले ज्यान गुमाएका अवस्थामा जीवनरक्षाका लागि लाग्न सबैलाई आह्वान गरे ।
महाभेलाको सहसंयोजक संस्था मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) की गीता पाण्डेले दण्डहीनताको अन्त्य गर्न आग्रह गर्दै नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे । महाभेलामा करीब २ सय संघसंस्थाले सहभागिता जनाएका छन् ।
प्रकाशित समय १७:५७ बजे

















