गृहपृष्ठ विद्यालयका ४ कोठा नगरपालिकाको कब्जामा, खुला चौर र संयुक्त कक्षामा विद्यार्थीको पठनपाठन
विद्यालयका ४ कोठा नगरपालिकाको कब्जामा, खुला चौर र संयुक्त कक्षामा विद्यार्थीको पठनपाठन
नगरभित्रका छात्रालाई वितरण गर्न खरिद गरिएका साइकल पनि थन्किए
धनुषाको हंसपुर नगरपालिकाले अनाधिकृत रुपमा श्रीउच्च मावि बघचौडाको ४ वटा कक्षाकोठा प्रयोग गर्दै आएको छ । नगरपालिका स्थापना भएपछि विद्यालयको एक कक्षाकोठामा लेखा शाखा नै स्थापना गरेको थियो । तत्कालिन लेखा प्रमुख सरुवा भएर लामो समयपछि आएका लेखा अधिकृत विवादमा परेका छन् । विवादपछि लेखा शाखामा लगाइएको ताला करिव डेढ वर्षदेखि खुल्न सकेको छैन । लेखा शाखाका कर्मचारी सरुवा भएर गएपछि हाल जनकपुुरबाट लेखा शाखाका सबै रेकर्ड खडा गरेर सञ्चालन हुँदै आएको छ ।
विद्यालयको एक कोठामा नगरपालिकाले स्टोरका सामानहरु राखेको छ । अन्य २ वटा ठूला ठूला कक्षाकोठामा हंसपुर नगरपालिकाले खरिद गरेको साइकल राखिएको छ । नगरपालिकाले आफ्नो पालिकाभित्र रहेको विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गरेको साइकल समयमै वितरण नभएपछि श्रीउच्च माविको कक्षा कोठामा थन्काएर राखिएको छ । एक कक्षामा कोभिड–१९ को समयमा विद्यालयमा बनाइएका क्वारेन्टिनको समयमा प्रयोग गरिएको खटियाहरु राखिएका छन् ।
वर्षौंदेखि विद्यालयको कक्षाकोठा नगरपालिकाले प्रयोग गर्दै आएकाले विद्यार्थीहरुलाई शिक्षण सिकाईमा भने प्रत्यक्ष असर परेको छ । विद्यालयमा भएको कक्षाकोठा नै अपुग भएको बेलामा नगरपालिकाले ४ वटा कक्षाकोठा प्रयोग गर्दै आएको छ । नगर प्रमुख र उपप्रमुखको एक अर्काबीच दोषापरोणले तिक्तता बढेको देखिन्छ । उपप्रमुख रेणु झाका अनुसार नगरप्रमुख रामज्ञान मण्डलले छात्राहरुलाई दिनुपर्ने साइकल वितरण नगरेर विद्यालयको भवनमा थन्काएर राखेका छन् ।

‘विद्यालयका स्टोरका सामाग्रीहरु समेत राखेका छन् । विवादले गर्दा लेखा शाखाको कोठामा लगाइएको ताला वर्षौंदेखि खुल्न सकेको छैन ।’ आफूले चाहेर पनि विद्यालयमा नगरपालिकाले राखेको सामान अन्य ठाउँमा व्यवस्थापन गर्न नसकेको उनले बताइन् ।
कक्षा १२ सम्म पढाई हुने श्रीउच्च माविमा वर्षाैंदेखि भवन अभाव हुँदा पनि नगरपालिकाले ४ वटा कक्षाकोठा प्रयोग गर्न थालेपछि विद्यार्थीहरुलाई खुला चौरमा पढाउनुपर्ने, संयुक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक रामएकवाल ठाकुरले बताए । ‘विद्यालयमा करिब १३ वटा कक्षाकोठाको अझै अपुग छ,’ शिक्षक रामचन्द्र मण्डलले भने, ‘एउटा विद्यालय प्रशासन, साइन्स ल्याब र पुस्तकाय, कम्प्युटर ल्याबलगायतले गर्दा कक्षाकोठा बढी आवश्यक भए पनि कक्षाकोठा अभावले विद्यार्थीहरुलाई संयुक्त कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ ।’
कक्षाकोठा अभावले गर्दा बालविकासका विद्यार्थीहरुलाई कहिले चौरमा, कहिले बरण्डामा वा कक्षा १ का विद्यार्थीसँगै राखेर पढाउँदै आएको प्रधानाध्यापक ठाकुरले बताए । कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुलाई समेत संयुक्त कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । कक्षा ११ र १२ लाई संयुक्त रुपमा पढाउँदा आफूहरुलाई निकै खल्लोपन महसुस भएको ११ कक्षामा अध्ययनरत छात्रा शान्तिकुमारी मण्डलले बताइन् । उनले भनिन्, ‘हामीलाई पढाउँदा १२ कक्षाका विद्यार्थीहरुले चुपचाप सुन्नुपर्ने र कक्षा १२ का विद्यार्थीलाई पढाउँदा कक्षा ११ का विद्यार्थीले चुपचाप सुन्नुपर्ने बाध्यता छ ।’ छुट्टा छुट्टै कक्षा कोठामा हुनुपर्नेमा ११/१२ दुवै कक्षा शिक्षण गर्दा आफूहरुलाई समेत पढाउन असहज भएको शिक्षक जितेन्द्र यादवले बताए ।

विद्यालयको भवन नगरपालिकाले प्रयोग गर्दै आएको भए पनि विद्यालयमा भने नगरपालिकाले अहिलेसम्म कुनै योजनासमेत बनाएको छैन । भाडा वापतको रकम वा विजुलीवत्तीको समेत विल विद्यालयले तिर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक ठाकुरले बताए । विद्यालयमा शौचालय निर्माणका लागि गत आर्थिक वर्षमा ७ लाख रुपैयाँ नगरपालिकाले निकासा गरेको भए पनि अहिले खाताको रकम झिक्न नपाउने गरि नगरपालिकाले नै रोक्का गराएको उनले बताए । ‘विद्यालयको खातामा ७ लाख रुपैयाँ भएर पनि विद्यालयमा शौचालय निर्माण हुन सकेको छैन । शौचालय निर्माणका लागि नगरपालिकाले मापदण्ड नतोक्दा खाताको रकम नै रोक्का गरिएको छ ।’
प्रकाशित समय ०९:०९ बजे

















