गृहपृष्ठ मंसिरमा मात्रै १३९ लैंगिक विभेदका घटना

मंसिरमा मात्रै १३९ लैंगिक विभेदका घटना

गत महिनामा मात्र मुलुकभर १३९ वटा लैंगिक विभेदमा आधारित हिंसाका घट्ना भएका छन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले मंसिरमा  आफ्नो कार्यालयमा १११ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त समाचारअनुसार २८ गरी १३९ लैंगिक विभेदमा आधारित हिंसाको तथ्यांक संकलन भएको जनाएको छ ।

यस अवधिमा महिलामाथि ६५ घरेलु हिंसाका घट्ना, ३० सामाजिक हिंसा, २४ बलात्कार, छ यौन दुर्व्यवहार, नौ हत्या सम्बन्धी घटनाका विवरण संकलन भएको ओरेकको ‘महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन, मंसिर २०७७’ मा उल्लेख छ । यसैगरी चार बलात्कारको प्रयास र एक आत्महत्या घट्नाको तथ्यांक संकलन भएको छ ।

उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ४८ जना १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिला बढी हिंसाको जोखिममा रहेको पाइएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । त्यस्तै प्रभावित र आरोपितको सम्बन्ध हेर्दा सबैभन्दा बढी ५६ हिंसा श्रीमानबाट भएको छ भने ३१ छिमेकीबाट, २२ परिवारका सदस्यबाट, १८ प्रेमीबाट, पाँच अपरिचित व्यक्तिबाट, दुई सेवा प्रदायकबाट, दुई शिक्षकबाट, दुई साथीबाट, एक हिंसाका घट्ना अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाइएको छ ।

महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुनी समानता मात्र पर्याप्त नहुने बताउँदै उनले विभेद र हिंसालाई प्रोत्साहन गर्ने सोच, दृष्टिकोण र व्यवहार साथै समाजले बनाएको लैंगिक  पहिचान र भूमिका परिवर्तन गर्ने अभियान र नीतिगत व्यवस्थाको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु