गृहपृष्ठ १९ वर्षअघिको त्यो घटना : सैनिक पोशाक देख्दा अझै तर्सन्छन् पीडितहरू
१९ वर्षअघिको त्यो घटना : सैनिक पोशाक देख्दा अझै तर्सन्छन् पीडितहरू
घटनाबारे सुनाउँदै स्थानीयवासीहरू ।
२०५८ साल मंसिर २३ गते तत्कालीन माओवादी लडाकुहरुको एक समूह कैलालीको गोदावरी नगरपालिका, सेहरीको गाउँमा प्रवेश गर्यो । गाउँलेहरुले सेनाको डरका कारण त्यहाँ नबस्न आग्रह गरे पनि उनीहरु थकानका कारण त्यहीँ बसे । राति खाना खाएर सुतेका उनीहरु बिहान उठेर आफ्नो बाटो लाग्ने तयारी गरिरहेका थिए । १२ जनाको समूहमा आएको त्यो टोली २४ गते बिहान युद्धस्थल जाने तयारी गर्दै थियो । त्यही बेला एक्कासी गोली चल्यो । त्यो गोली तत्कालीन माओवादीले नभई नेपाली सेनाले चलाएको थियो ।
सो टोलमा माओवादी बसेको सुराकी पाएपछि सेनाको टोली गाडीसहित त्यहाँ पुगेको थियो । १२ जना माओवादी लडाकुहरु त्यस टोलमा बसेका थिए । उनीहरुले सेनासँग भिड्ने भन्दै त्यहाँका बासिन्दाहरुलाई अर्को टोलमा गएर बस्न आग्रह गरे ।
त्यस भिडन्तमा तत्कालीन अखिल क्रान्तिकारीका सेती-महाकाली इञ्चार्ज जनम बरालसहित ११ जना मारिएका थिए । एकजना महिला कार्यकताको भने अपहरण भएको थियो । तत्कालीन वाइसीएल कमाण्डर रहेका स्थानीय डम्मर रानाका अनुसार ११ जनालाई घरबाट निकाल्दै गोली हानिएको थियो । ‘हामीलाई पार्टीले धनगढी खटाएको थियो । गाउँमा त्यो दिन भएको घटना हामीले समाचारमा सुनेका थियौं,’ रानाले सम्झिए । ११ जना साथीको ज्यान गएको खबर सुन्दा साह्रै मर्माहत भएको उनले सुनाए ।

त्यस दिन टोलका वृद्धवृद्धाहरुले समेत सेनाबाट कुटिएका थिए । गाउँ नै आतंकित बनेको थियो । ‘त्यो दिनदेखि गाउँ नै अन्धकार लाग्न थाल्यो । हामीलाई गाउँ आउनसमेत बन्देज भयो,’ उनले भने ‘त्यो बेलादेखि अहिलेसम्म पनि गाउँमा सेनाको त्रास हटेको छैन । सेनाको कुटाइ खाएका आमा-बुवाहरु अहिले पनि सैनिक पोसाक देख्दा डराउनुहुन्छ ।’
सेहरीकी फुलकेतुकी रानाले अघिल्लो साँझ माओवादीहरुलाई खाना खुवाएकी थिइन् । बिहान खाजा खुवाउन पिठ्यूँमा छोरालाई बोकेर उनी भान्सामा काम गरिरहेकी थिइन् । त्यतिबेलै गोली चल्यो । उनी आत्तिइन् । ‘सेना आयो’ भनेर उनले माओदावीहरुकै मुखबाट सुनिसकेकी थिइन् । माओवादीहरुले उनलाई अर्को घरमा जान आग्रह गरे । बाटोमै गोलीको छर्रा लागेपछि उनी निस्सासिइन् । उनलाई सेनाले कुटपिट गर्यो । त्यही बेलादेखि उनको छोरा शारीरिक रुपमा अशक्त भएका छन् । उनले भनिन्, ‘त्यही दिनको घटनाले छोराको एक हात नचल्ने भयो । मानसिक समस्या पनि आयो ।’ सशस्त्र द्वन्द्वकालमा आफूले त्यतिका सास्ती खेपेको र छोराको स्वास्थ्यमा समेत समस्या आए पनि कतैबाट राहत नपाएको उनको गुनासो छ ।
स्थानीवासी जमुना राना त्यो दिनको घटना निकै त्रासदीपूर्ण भएको बताउँछिन् । घरमा भएको सुन-चाँदी लगायतका बहुमुल्य वस्तुसमेत सेनाले लगेको उनले बताइन् । ‘११ जनाको लाससँगै गाडीमा हाम्रो महँगो सामानसमेत सेनाले लगिदियो । नलैजाउ भने मार्लान् भन्ने डरले चुप लाग्यौं,’ उनले भनिन् । त्यतिका दुख भोगेर गणतन्त्र स्थापना भए पनि नेताहरुले भने आ-आफ्नै स्वार्थपूर्तिमा लागेको उनले गुनासो सुनाइन् । 
तत्कालीन अखिल नेपाल क्रान्तिकारीका सेती-महाकाली इञ्चार्ज जनम बरालसहित ११ जना सहिद बनेको स्थानमा बुधबार अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्वकेन्द्रीय अध्यक्ष रमेश मल्ल सहितको टोली पुग्यो । जनम मारिएपछि मल्ललाई सेती-महाकाली इञ्चार्जको जिम्मेवारी दिइएको थियो । सेहरी पुगेको सो टोलीले त्यो घटनाका बारेमा थप जानकारी लिनुका साथै केही राहतका लागि पहल गर्ने आश्वासन पनि दिएका छन् ।
प्रकाशित समय १५:२५ बजे

















