गृहपृष्ठ नागढुंगाबाट डेढ करोडसहित पक्राउ

नागढुंगाबाट डेढ करोडसहित पक्राउ

arrest_पक्राउ_news karobar

नेपाल प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढंगाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक संगम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।

‘उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु