गृहपृष्ठ पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्वपदाधिकारीसँग
पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्वपदाधिकारीसँग
पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु संकलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २०औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले २०३१ सालमा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो ।
पुस्तकालयमा रहेका पाँच हजार पुस्तकमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्वपदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् । बाहिर रहेका पुस्तक संकलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ ।
‘पूर्वपदाधिकारीले लगेका पुस्तक घरघरमै गएर संकलन गरी नमुना पुस्तकालय सञ्चालन गर्छौँ, वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौँ,’ उनले भने ।
कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरे विद्यार्थी र अध्यापक गरी २० वर्षे अवधिमा कहिलेकाहीँमात्र पुस्तकालय खुलेको सुनाउँछन् ।
२०५६ सालदेखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उनले जानकारी दिए । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ ।
पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् । सहरी क्षेत्रमा इ-पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन ।
महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम
वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोनाभाइरस महामारी सुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी भएका बेला विद्याश्रम बन्द गरिएको थियो । अन्य क्षेत्र खुला भएसँगै प्रशासन खोलेर अनलाइनमाध्यमबाट पठनपाठन सुरु गरिए पनि प्रभावकारी हुन नसकेको अध्यापकहरुको अनुभव छ ।
हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा २०७६ सालदेखि ११ कक्षा सुरु भएको हो । हाल कक्षा ११ मा २२ र कक्षा १२ मा १७ विद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउँछन् । संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर वाहिनी गुरुकुलमा समेत गत वर्षदेखि कक्षा ११ को पढाइ सुरु भएको छ । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत पढाइन्छ ।
विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । २०५२ देखि २०५४ सालसम्म दुई वर्ष भने विश्व हिन्दू महासंघले विद्याश्रम सञ्चालन गरेको थियो । २०५४ देखि २०५६ सालसम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ ।
संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । २०५५ सालमा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आएका काञ्चीकामाकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरिदिएका थिए ।
२०५६ सालमा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । २०६० सालमा बलबहादुर केसी संस्कृति मन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एक जना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन् ।
२०७६ सालदेखि भने आवासीय विद्यार्थीको संख्या बढाएर १०९ पु-याइएको छ । आवासीय विद्यार्थीको संख्या १०९ पु-याएपछि कोरोनाका कारण १० महिनादेखि छात्रावास बन्द छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै बिस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ ।
पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनीमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो । यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तकसमेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब २०० गुरुकुललाई सहयोग पुगेको छ ।
विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । २०५६ सालदेखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एक जना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने बित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो । (रासस)
प्रकाशित समय ०७:२१ बजे

















