गृहपृष्ठ चेक बाउन्स मुद्दामा फरार रहेका ३ जना पक्राउ
चेक बाउन्स मुद्दामा फरार रहेका ३ जना पक्राउ
बैकिङ कसूर(चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका- १४, हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका- २, चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका- २ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई रहेका छन् ।
पक्राउमध्ये राम बहादुरलाई आइतबार चितवन खैरेनी नगरपालिका- ८ बाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी बिभिन्न बैंकका चेकहरु काटी पीडितलाई दिई बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
प्रकाशित समय १३:२३ बजे

















