गृहपृष्ठ ‘सरकार चलाउन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिने हो’

‘सरकार चलाउन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिने हो’

'ताजा जनादेशमा जाने कुरा संविधानबाहिर गएर गरिएको रहेछ भने त्यसले प्रणाली नै ध्वस्त हुन्छ'

प्रतिनिधि सभा विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आजको पहिलो बहसमा निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले संविधानको धारा ७६ (७)ले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको जिकिर गरे ।

सरकार चलाउन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अधिवक्ता पोखरेलले बताए । ‘आज प्रधानमन्त्रीले दुईतिहाइ चाहियो भनेर संसद विघटन गर्नुभयो । भोलि दुईतिहाइ आयो भने त्यसले पनि पुगेन अब तीनचौंथाइ चाहियो भन्नु होला,’ पार्टीको इन्ट्रेस्ट व्यवस्था गर्न नसक्नेले संसद विघटन गर्न नमिल्ने उनले बताए । सरकार चलाउन नसकेपछि संसदलाई बली चढाउनु सबैभन्दा गलत नियत र संविधानको दुरूपयोग भएको अधिवक्ता पोखरेलको तर्क छ ।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले अदालतलाई बुझाएको लिखित जवाफमा ‘विशेषाधिकार र अन्तर्राष्ट्रिय प्रचलनका आधारमा विघटन गर्न मिल्छ’ भन्ने तर्कलाई मान्न नसकिने उनले बताए । उनले भने, ‘संसद छलेर संसदप्रतिको उत्तरदायित्व पूरा हुँदैन । संविधानमा नभएको विशेषाधिकार संसदीय व्यवस्थाको प्रचलन देखाएर प्रयोग गर्न पाइन्न ।’ ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पनि उनले खण्डन गरे । ताजा जनादेशमा जाने कुरा संविधानबाहिर गएर गरिएको रहेछ भने त्यसले प्रणाली नै ध्वस्त हुने उनले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा अहिले पनि निवेदकतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । यसअघि हिजाेकाे सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायीहरू सन्तोष भण्डारी, गिरिराज भट्ट, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र सुनिल पोखरेलले बहस गरेका थिए ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु