गृहपृष्ठ बागमती प्रदेशमा ६ वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेशमा ६ वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले ६ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए ।

सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा २०१ को उपचार २ प्रयोग गर्दै उक्त विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणाीकरण गरेका हुन् ।

बागमती प्रदेशसभाको बैठक स्थगन

बागमती प्रदेशको प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित सबै दलको संसदीय दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । अब अर्को बैठक कहिले बस्छ भन्ने अन्योल भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अविश्वासको प्रस्तावमाथि मत विभाजन गर्नुपर्ने प्रचण्ड-माधव समूहका सांसदले भन्दै आए पनि हिउँदे अधिवेशन शुरु गरेको पहिलो दिनमा नै संसद् बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो ।

६ महिनापछि सुरु भएको सातौँ अधिवेशन बुधबार पहिलो बैठक बसेर सदन स्थगन भएको हो । आफ्नै दल नेकपाका सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै अन्योल बनेको बागमती प्रदेशसभाको बैठक उक्त विषयले प्रवेश नै पाएन । गत साउन ८ गते चालू आव २०७७/७८ को बजेट पारित गरेर स्थगन भएको प्रदेशसभा आधा वर्ष अवरुद्ध रहेको थियो ।

प्रदेशसभा बैठकको शुरुआतमा सदनमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बोल्ने संसदीय दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मविपरित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । यद्यपि उक्त विषयमा मुख्यमन्त्री पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताए । सोही अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले छोटो अवधिमा प्रदेश सरकारले समृद्धि र विकासको काम गरेको दाबी गरे ।

बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईदुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक गरी ११० सदस्य रहेका छन् । (रासस)

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु