गृहपृष्ठ सुदूरपश्चिममा ३९ हजार सवारी साधनलाई कारबाही
सुदूरपश्चिममा ३९ हजार सवारी साधनलाई कारबाही
सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार ६ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, ६ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारबाहीमा परेका छन् । छ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी साधन कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सवारी साधनबाट दुई करोड २८ लाख ६७ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए । ‘अघिल्लो आवको छ महिनामा ३५ हजार ९६१ सवारी साधन कारबाहीमा पर्दा दुई करोड ११ लाख ७१ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको थियो,’ प्रहरी निरीक्षक साउँदले भने, ‘अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारबाहीमा परेका छन् । जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व वढी संकलन भएको देखिन्छ ।’
यस वर्ष ट्राफिक नियम बढी उल्लंघन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ । सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हुँदा ४२७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ । यो अवधिमा ३२० गम्भीर र २९० सामान्य घाइते भएका छन् ।
ट्राफिक कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवको छ महिनामा १३६ सवारी दुर्घटना भएका थिए । १३६ दुर्घटना हुँदा १९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो । अघिल्लो आवको छ महिनाको तथ्यांक हेर्दा चालू आवमा सवारी दुर्घटनासमेत बढेको तथ्यांक छ । सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रहरीको भनाइ छ । (रासस)
प्रकाशित समय ०८:२२ बजे

















