गृहपृष्ठ ‘सुन्दर नगरी’ बन्न सकेन वीरेन्द्रनगर

‘सुन्दर नगरी’ बन्न सकेन वीरेन्द्रनगर

कुनै समय वीरेन्द्रनगर नगरपालिका ‘सुन्दर नगरी’का रुपमा परिचित थियो । सरसफाई, हरियाली क्षेत्र, फोहोर व्यवस्थापन, आवास क्षेत्रको व्यवस्थापन, खेतीयोग्य क्षेत्र लगायतको व्यवस्थापनले वीरेन्द्रनगर सुन्दर देखिन्थ्यो । प्रदेशको राजधानीसमेत रहेको नगरलाई सुन्दर नगरीकै रुपमा यथावत् राख्नको लागि प्रदेश तथा स्थानीय सरकार र केही गैर सरकारी संघसंस्थाहरुले समेत ठुलै कसरत गरे । भर्खरै निर्वाचित हुँदा मुख्यमन्त्री, मन्त्रीलगायत नगरप्रमुख र उपप्रमुखहरु समेत हातमा कुचो र बेल्चे समातेर सरसफाईमा जुटे पनि । नालीको फोहोर र विभिन्न सार्वजनिक स्थलमा प्लाष्टिक टिप्न हरेक महिनाको १ र १५ गते प्रतिनिधिहरु पुगिहाल्थे ।

प्रदेश सरकारले श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण नै गरेर कामसमेत अगाडि बढायो । कार्यविधिमा श्रम अभियानको कार्यक्षेत्र स्वास्थ्य, शिक्षा, सरसफाई, सार्वजनिक स्थलको मर्मतसम्भार, वातावरण संरक्षण तथा पर्यावरण सुधारलगायत भए पनि अभियानमा प्राय सरसफाईकै काम अगाडि बढाइयो । सुरुमा अभियान सञ्चालन गर्दा सुन्दर देखिने वीरेन्द्रनगर अहिले कुरुप बन्दै गएको छ । नामजस्तै सुन्दर नगरी वीरेन्द्रनगर अहिले बन्न नसकेको हो ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति नै सरसफाईका अभियान सञ्चालन गरे पनि स्थानीयमा भने त्यसको सिको गर्ने प्रवृत्ति नभएका कारण सरसफाई अभियानमा चुनौती रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल बताउँछन् । ‘हामी फोहोर उठाउँदै जान्छौं,’ उनले भने, ‘पछि-पछि गुट्खा खाएर बाटोमै फाल्नेहरुको लाइन हुन्छ ।’ घरअगाडिको फोहोर सरकारले नै आएर उठाइदिनुपर्छ भन्ने सोच वीरेन्द्रनगरवासीको भएको कारण समस्या भएको उनले तर्क गरे । वडाले अनिवार्य कुहिने फोहोर र नकुहिने फोहोरका लागि डस्बिन राख्नुपर्ने गरी वडाबासीलाई निर्देशन गरेको र एउटा डस्बिन वडाले नै वितरण गरेको उनले बताए । तर पनि राति सडक छेउमा फोहोरको थुप्रो राख्दिने, सडकमा रहेका डस्बिनसमेत चोरिदिने र फोहोर गर्नेलाई कारबाही गर्न खोज्दा सुरक्षा निकायले साथ नदिएको उनले गुनासो गरे ।

नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीय क्षेत्रमा प्लाष्टिकको बोतल तथा विभिन्न फोहोरहरु थुप्रिएको देख्न सकिन्छ । काँक्रेबिहार, देउतीबज्यै लगायतका क्षेत्रमा फोहोर फैलिएको पाइन्छ । नगरको मुटुमा रहेको बुलबुले तालसमेत प्लाष्टिकका बोतल र फोहोरले भरिएको छ । बजार क्षेत्रको ढलसमेत बुलबुलेमै मिसिने भएकाले यस्तो फोहोर भएको बताउँछन् वन दिर्नेशनालय कर्णाली प्रदेशका जलाधार अधिकृत शिखर चपाई । उनले ढललाई व्यववस्थित नगरेसम्म बुलबुले तालमा प्लाष्टिकका बोतल र अन्य फोहोर जमिरहने बताए ।

यता पूर्वाधार निर्देशनालय कर्णाली प्रदेशका प्रमुख बासुदेव पौडेलले आफूहरुले नाली निर्माण गर्दा प्राकृतिक रुपमा बग्ने खोलामै ढल मिसाएको दाबी गरे । प्रदेश सरकारले दिएको कार्यक्रम र बजेट नै आफूहरुले कार्यान्वयन गरेको उनले तर्क गरे । बजार क्षेत्रको ढल बुलबुले उद्यानमा मिसिएको भए त्यसको लागि नयाँ कार्यक्रम ल्याउनुपर्ने पौडेलले सुझाए ।

वीरेन्द्रनगर नगरपालिकाले समेत सरसफाईसम्बन्धी कार्यविधि निर्माण गरी काम अगाडि बढायो । तर पनि पूर्ण रुपमा त्यसको कार्यान्वयन हुन सकेको छैन । नगरका पमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले पछिल्लो समय नगरमा धमाधम विकास निमार्णको काम अगाडि बढेकाले पनि समस्या भएको बताए । ‘कार्यविधि क्रमश कार्यान्वयन हुने क्रममा छ,’ उनले भने, ‘उपत्यकाका १२ वटै वडालाई समेटी सरसफाईको जिम्मा निजी क्षेत्रलाई दिने कार्यविधिमा उल्लेख छ ।’ १२ वटै वडालाई समेटी सरसफाईको एउटा प्याकेज नै ल्याउने तयारी भएको जानकारी दिए । नगरमा ढल निकासको समस्या भएको भन्दै उनले माथिल्लो ढल निकासका लागि निर्णय गरी संघीय सरकारसँग अनुरोध गरेको बताए ।

सरकारी क्षेत्रबाट सरसफाईका क्षेत्रमा केही नभएको होइन । सरकारका प्रतिनिधि, कर्मचारीलगायत श्रम दिनको अवसर पारी आफैँ सडकमा सरसफाईका लागि आए तर त्यसको सिको नागरिकले गर्न नसक्दा अभियान सफल हुन सकेन । सरकारी क्षेत्रले मात्रै होइन केही निजी संघसंस्थाले समेत सरसफाईको अभियान सञ्चालन गरे । ‘क्लिन सुर्खेत ग्रीन सुर्खेत’का अभियान्ता डा. नवराज केसीले ९५ हप्तासम्म अभियान सञ्चालन गरिरहँदा नयाँ युवाहरुले अभियानलाई निरन्तरतातर्फ चासो देखाएको बताए । ‘केही वडाहरुलाई सरसफाईसम्बन्धी कार्यविधि निर्माणमा समेत प्रेरित गरियो,’ उनले भने, ‘सरसफाईसम्बन्धी कार्यविधि निर्माण गरी वडाहरु सरसफाईमा जुटेका छन् ।’ अबको केही हप्ता प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा सरसफाई अभियान सञ्चालन गर्ने तयारी रहेको केसीले जानकारी दिए ।

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु