गृहपृष्ठ ठूला मिडियाको लगानीको पारदर्शिता खोज्छौं : महासचिव विष्ट
ठूला मिडियाको लगानीको पारदर्शिता खोज्छौं : महासचिव विष्ट
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शिता खोजी गरिने बताएका छन् । नेपाल पत्रकार महासंघका तनहुँ शाखाको मंगलबार दमौलीमा आयोजित साधारणसभामा महासचिव विष्टले वर्षौंसम्म आम्दानी गर्ने तर श्रमजीवी पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शिता खोजी गरिने बताए ।
‘वर्षौंसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड संकट देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमविरुद्ध आन्दोलन सुरु भएको छ,’ उनले भने, ‘महासंघ सदैव श्रमजीवी पत्रकारको पक्षमा छ ।’ महासचिव विष्टले पत्रकार महासंघ उन्नत पत्रकारिताको अभ्यासभन्दा पनि अन्य काममा भुल्नपरेको गुनासो गरे । व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासंघलाई सहयोग नगरेको विष्टको भनाइ थियो । विष्टले पत्रकारले राजनीति गर्न नहुने तर राजनीति बुझ्न भने आवश्यक रहेको तर्क गरे । नागरिक अधिकार विरोधी कदममा महासंघ मूखदर्शक भएर बस्न नसक्ने विष्टको भनाइ थियो ।
प्रकाशित समय १९:११ बजे

















