गृहपृष्ठ भर्चुअल कन्फरेन्समार्फत् एकै दिन ५ भवनको सिलान्यास तथा उद्घाटन

भर्चुअल कन्फरेन्समार्फत् एकै दिन ५ भवनको सिलान्यास तथा उद्घाटन

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअलमार्फत् एकै दिन चारवटा भवनको उद्घाटन तथा एउटा भवनको सिलान्यास गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयबाट बुधबार सरकारी वकील कार्यालय डोटीको भवन शिलान्यास तथा वकील कार्यालय तेह्रथुम र वकील कार्यालय वैतडीको नवनिर्मित भवनको शिलालेखको अनावरण गरी समुद्घाटन गरेका हुन् ।

भवनको शिलान्यास तथा नवनिर्मित भवन समुद्घाटन समारोहलार्इ सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले सरकारी वकील कार्यालयहरूलार्इ भौतिक साधन स्रोत सम्पन्न बनाएर उपयुक्त कार्य वातावरण बनाउन महान्यायाधिवक्ताको कार्यालय क्रियाशील भएको बताए । उनले सरकारी वकीलहरूले बौद्घिक विकास र व्यावसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारी वकील कार्यालय पीडितको कार्यालय भएकाले पीडितमैत्री वातावरण सरकारी वकील कार्यालयमा हुनुपर्छ ।’

अपराध हुनुभन्दा अगाडि अपराधको सचेतना सम्बन्धी जानकारी मानिसहरूलार्इ हुन सकेमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भएकाले प्रहरी र सरकारी वकीलले समुदाय स्तरमा सचेतना गराउने कार्यक्रमहरू संयुक्त सहकार्यमा आयोजना गर्नुपर्ने उनको भनार्इ थियो । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठ् नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सरकारी वकील कार्यालयको नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुगेको बताउँदै सरकारी वकीलहरूको कार्य सम्पादनमा समेत व्यावसायिकता, सिर्जनात्मकता र नयाँपन वृद्घि गर्नुपर्ने बताए ।

कार्यक्रममा वैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र तेह्रथुम जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ भवनहरूको निर्माणले सरकारी वकील कार्यालयहरूबाट दिइने सेवा प्रभावकारी र गुणस्तरीय रूपमा प्रदान गर्न सहयोग पुग्ने बताए । नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरेका थिए । उच्च सरकारी वकील कार्यालय दिपायलका निमित्त सहन्यायाधिवक्ता टेकबहादुर थापाले नयाँ निर्माण हुन लागेको जिल्ला सरकारी वकील कार्यालय डोटीको भवनको शिलान्यास कार्यक्रमको शिलान्यास स्थलमा सहजीकरण गरेका थिए ।

जिल्ला सरकारी वकील कार्यालय तेह्रथुमका सहायक जिल्ला न्यायाधिवक्ता दिपक बस्याल र जिल्ला सरकारी वकील कार्यालय वैतडीका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु