गृहपृष्ठ सबैभन्दा ठूलो क्षमताको विद्युत सबस्टेशन उद्घाटन
सबैभन्दा ठूलो क्षमताको विद्युत सबस्टेशन उद्घाटन
नेपाल भारतबीचमा एक हजार मेगावाटसम्म विद्युत आदानप्रदान गर्न सकिने
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको सोमबार उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००, २२० र १३२ केभी क्षमताको छ ।
नेपालमा विद्युतको एक शताब्दीभन्दा पुरानो इतिहास र १९६७ सालमा फर्पिङ विद्युत गृह निर्माणपछि अहिले प्रथमपटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर-मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । संघीय सरकारको राष्ट्रिय विद्युत विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जीआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टरजडित छ । जसबाट करिब ९०० मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ । हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ ।
यी संरचनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत भारत निर्यात गर्न सकिने छ ।
वर्षायाममा बढी भएका खण्डमा ढल्केवर-मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिने छ । कुल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडो याममा भारतबाट थप विद्युत आयात गरी देशभित्रको माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिक रूपमा खपत हुन नसकेको विद्युत निर्यात गर्ने पूर्वाधार तयार भएको छ । खिम्ती-ढल्केवर २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी कामसमेत भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत यही प्रसारण लाइनमार्फत ढल्केवर पुर्याइने छ । ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भए पनि विद्युत प्रवाहको संरचनाको अभावले त्यसलाई १३२ मा परिणत गरी प्रवाह भइरहेको छ ।

कुल १३ बिगाह १४ कठ्ठा वर्गमिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरिवेक्षण नेपाली इञ्जिनियरले गरेका छन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जा सबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको छ ।
सो सबस्टेशनबाट नेपाल भारतबीचमा करिब एक हजार मेगावाटसम्म विद्युत आदानप्रदान गर्न सकिने र २२० केभीमा खिम्तीबाट आउने दुई फिडरमार्फत माथिल्लो तामाकोशीको विद्युत् आपूर्ति हुनेछ । त्यस्तै हेटौंडादेखि इनरवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करीब दुई हजार मेगावाटसम्मको विद्युत् हेटाैंडातर्फ र दुई हजार मेगावाटसम्मको विद्युत इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने छ ।
सो ४०० र २२० केभी सबस्टेशन सन् २०१७ डिसेम्बर ८( २०७४ मंसिर २२) मा ठेक्का सम्झौता भई निर्माण भएको हो भने २०२० नोभेम्बर ११ (२०७६ कात्तिक २६ गते )मा चार्ज भई हाल ४०० केभीमा चालु अवस्थामा आएको छ । सो आयोजना सम्पन्न गर्न करीब १७.७४ मिलियन अमेरिकी डलर र नेपाली २२ करोड गरी जम्मा करीब नेपाली रकम दुई अर्ब २० लगानी छ । त्यसैगरी २२० र १३२ केभीको कूल लागत करिब ६.९ मिलियन अमेरिकी डलर र नेपाली २८ करोड छ जसमा बैंकको प्रसारण लाइन तथा सबस्टेशन गरी जम्मा १३८ मिलियन अमेरिकी डलर ऋण सहयोग छ ।

भारत र बंगलादेशमा विद्युत बेच्ने पूर्वाधार तयार भएको छ : प्रधानमन्त्री
सो अवसरमा प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुंगोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताए । ‘अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ,’ उनले भने । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर-मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत परियोजनाको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बंगलादेशमा विद्युत बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत बेच्नेबारेमा गम्भीर छलफल भइरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले २०७२ सालमा परिकल्पना गरेको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयात-निर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको बताए । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सबैभन्दा बढी क्षमताको सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि भएको बताए । (रासस)
प्रकाशित समय १७:१६ बजे

















