गृहपृष्ठ ३० प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न, निर्वाचनप्रति संवेदनशील भएर काम गर्न निर्देशन
३० प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न, निर्वाचनप्रति संवेदनशील भएर काम गर्न निर्देशन
जनपद तथा प्राविधिक प्रहरीतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच पदोन्नति भएका ३० जना अधिकृतलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
दर्ज्यानी चिह्न पाएकाहरूमा प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) पदमा १५ जना, प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृत रहेका छन् । साथै सोही मितिको निर्णयअनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका १ जना हाल सुडान डार्फरस्थित एफपीयू मिसनमा कार्यरत रहेका छन् ।
समारोहमा आईजीपी थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन् गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिए । नेपाल सरकारद्वारा घोषित निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै आईजीपी थापा क्षेत्रीले आचरण एवं व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए । संगठनले अंगीकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारीहरु पदिय दायित्व अनुसार एक्यवद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै एसपी ऋषिराम कँडेलले संगठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव एक्यबद्ध भई नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय १७:५४ बजे

















