गृहपृष्ठ नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गरेको छ ।

सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गरेकाले ती पुललाई नक्सांकनसहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताए । श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाईने बताए । उनले भने ‘यी पुल एक वर्षभित्रमा सम्पन्न गर्नेछौं ।’

केही ठाउँमा भित्तो काटेर पुल बनाउनु पर्ने भएपनि महत्वपूर्ण सडक भएकाले छिटो सम्पन्न हुने गरी काम गरिने उनले बताए ।

झण्डै २ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेको पनि उपमहानिर्देशक श्रेष्ठले बताए ।

सोही सडकका ४ वटा पुल निर्माण भईरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परियोजना संयोजक समेत रहनु भएका श्रेष्ठले पुलको चौडाई ११ मिटर फराकिलो हुने बताए । हाल रहेका पुल नभत्काईकन सकेसम्म छोटो पर्ने गरी पुल निर्माण गरिंदै छ । सडकको नारायणगढदेखि १६ किलोमिटरसम्म ११ मिटर फराकिलो छ भने त्यस उता मुग्लिनसम्म नौ मिटर फराकिलो बन्दैछ । हाल रहेका पुलहरु भने पाँच दशकलव पाँच देखि ६ मिटर फराकिला रहेका छन् ।

प्रमुख गोविन्द खनालले अब बन्ने पुलबाट दुईतर्फी सवारी सहज सञ्चालन हुने बताए । पुलको दुवै छेउमा एक दशमलव पाँच मिटरका फुटपाट हुनेछन् । चार वटा पुलको काम तीब्र गतिमा अगाडि बढिरहेको छ ।

निर्माण शुरु भएका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलवीरे रहेका छन् ।

जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । ३ वटा पूल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुप्रिम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड निर्माण हुन १८ प्रतिशत बाँकी छ । आउँदो जेठ १५ भित्र सडकको काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।-रासस

प्रकाशित समय २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु