गृहपृष्ठ बाजुरामा भारी हिमपात, व्यापारी चिन्तित, किसान दंग

बाजुरामा भारी हिमपात, व्यापारी चिन्तित, किसान दंग

सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा परेको हिमपात । फाइल तस्बिर

बाजुरामा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ । भारी हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुसी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

समयमै हिमपात र वर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मंसिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघमा मात्र हिमपात भएको छ ।

बिहीबार रातिबाट वर्षासँगै हिमपात हुन थालेपछि किसान खुसी भएका छन् । ‘यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ,’ बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, ‘एक्कासि वर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आश पलाएको छ ।’ हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने उनीहरूले बताएका छन् ।

हिमपातले व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुराको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने गर्छ ।

अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासि बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ । निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठबाहिर निकाल्न सकिएको अवस्था छैन ।

चिसोले बालबालिका र वृद्धवृद्धामा बढी प्रभावित भएका छन् । बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो ।

बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।

हुम्लामा पनि हिमपात    

हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात भइरहेको छ । बिहीबार रातिदेखि हुम्लामा हिमपात हुँदा चिसो बढेको छ ।

मौसममा आएको बदलीसँगै एक्कासि हिमपात सुरु भएको छ । हिमपातले खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका थिए । सर्केगाड गाउँपालिका ६ बराइगाउँका मानबहादुर ऐडीले हिमपातले हुम्लाका किसान खुसी भएको बताए ।

हिमपातका कारण सिमकोट पढ्न आउने विद्यार्थी भने मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही पनि अलपत्र परेका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको हो । (रासस)

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु