गृहपृष्ठ बोक्सादीमा जिपले भित्र्याएको खुसी 

बोक्सादीमा जिपले भित्र्याएको खुसी 

नेपालका यस्ता धेरै गाँउ छन् जहाँ यातायात सुविधाको अभावका कारण दैनिक जीवन कष्टकर छ । त्यसैमध्येको एउटा गाँउ हो पाल्पाको माथागढी गाँउपालिका- २, बोक्सादी । जहाँ पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि स्थानीयहरुमा खुसी एवं उत्साह छाएको थियो ।
पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन् । सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेका स्थानीयवासीको सपना भने अब पूरा भएको छ । गाउँमा गाडी गुडेको हेर्ने सपना बोकेका बोक्सादीवासीको सपना अहिले घर आँगनमा पहिलो पटक जीप पुगेपछि पूरा भएको दिमाया सारु बताउछिन् । ‘गाउँमा सडक आउँला भन्ने आशा थिएन तर अहिले सडक खुलेसँगै घरआँगनमै सवारी साधन गुड्न थाल्यो’, उनले भनिन् ।
शनिबार गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र वडा नं २ का अध्यक्ष जनक रिजेलको नेतृत्वमा गाउँमा पहिलो पटक जीप ल्याउने चालक तिलक रिजेललाई स्थानीयवासीले स्वागतसहित सम्मान गरेका छन् । उक्त सडक गाउँपालिकाको रु दश लाख सहयोग र दुई लाख बराबरको श्रमदानबाट निर्माण भएको ।
गाउँमा स्थानीय सरकार आएपछि साँच्चिकै जनअपेक्षा अनुरुपमा काम गर्ने जनप्रतिनिधि पाएको मीना सारु बताउँछिन् ।
नियमित सवारीका साधनहरु सञ्चालन हुने भएसँगै उनीहरुले अब भने सुगमको महसुश गरेका छन् । दैनिक रुपमा सवारीसाधन सञ्चालनमा ल्याएसँगै स्थानीय बजारमा उत्पादन भएका खाद्यवस्तुहरु बजारसम्म पुर्याउन सहज भएको स्थानीयकाे भनार्इ ।
(रासस)

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु