गृहपृष्ठ मिर्गौला र क्यान्सरपीडितलाई प्रवासीको सहयोग
मिर्गौला र क्यान्सरपीडितलाई प्रवासीको सहयोग
एउटै घरका तीन अपांगता भएका बालिकालाई सहयोग
रोजगारीका लागि इजरायलमा रहेका प्रवासीले दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । ‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सरबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि करिब डेढ लाख आर्थिक सहयोग गराएको हो । गौतमलाई एक लाख २० हजार र मिर्गौलापीडित शर्मालाई २८ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।
रक्तक्यान्सरपीडित गौतम विगत पाँच महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् भने मिर्गौलापीडित शर्मा एक महिनादेखि उपचारका लागि काठमाडौँमा छन् । दुई सन्तानकी आमा अमृता दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलोसिस गरेर जीवन धानिरहेकी छन् । शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले मानवीय जीवनमा रोगले कतिबेला आक्रमण गर्छ भन्ने कुराको ग्यारेन्टी नहुने भएकाले विपतको अवस्थामा सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए ।
एउटै घरका तीन अपांगता भएका बालिकालाई सहयोग
सुतेरै जीवन बिताइरहेका ती सन्तानको पीडा र समस्या युट्युबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन् । अमेरिकाको भर्जिनियामा बस्ने साना बालबालिकाले तिहारमा देउसीमा जम्मा गरेको र विद्यालयको खाजा खर्च कटाएर पर्वतको बिहादी गाउँपालिका-३, रानीपानीका बलबहादुर परियारका तीन अपांगता भएका छोरीलाई आर्थिक सहयोग गरेका हुन् ।
भर्जिनिय बस्दै आएका पर्वतको कुस्मा नगरपालिका–४ का माधव र सरिता उपाध्यायका छोराछोरी स्मृति र प्रतीक तथा उनका साथीहरूले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको ३१ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल तथा स्मृति र प्रतीककी हजुरआमा लुमाकुमारी उपाध्यायले अपांगता भएका बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गरे ।
(रासस)
प्रकाशित समय ११:४८ बजे

















