गृहपृष्ठ यात्रु ठग्ने ट्याक्सीलाई तीन हजार जरिवाना

यात्रु ठग्ने ट्याक्सीलाई तीन हजार जरिवाना

Taxi-newskarobar

महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी र निजी कारलाई तीन हजार रुपैयाँ जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिए ।

‘साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेका छौँ,’ उनले भने । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नुपर्ने बताए । ‘सरकारले मिटर ट्याक्सीको रकम बढाउन लाग्नुपर्छ र हरेक चालक मिटरमा जानुपर्छ,’ उनले भने ।

अध्यक्ष गौतमले कार र जीपले यात्रु बोक्न नपाउने बताए । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० ट्याक्सी सञ्चालनमा छन् ।

(रासस)

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु