गृहपृष्ठ बलात्कारीविरुद्ध बलियो बन्दै युवा आवाज

बलात्कारीविरुद्ध बलियो बन्दै युवा आवाज

rape-newskarobar

देशभर बलात्कारका घटना बढ्दै जाँदा पनि संवेदनशील नदेखिएको भन्दै सरकारविरुद्ध विरोधका स्वर उँचो बन्दै गएका छन् । दैनिक बलात्कार र हिंसाका घटना हुन थालेपछि देशका कुना-कुनासम्म बलात्कारीविरुद्ध आवाज बलियो बन्दै गएका हुन् ।

बलात्कारीलाई सख्त कारबाहीको माग गर्दै राजधानीमा पेटीकोेट लगाएर प्रदर्शन भयो । युवा सचेतना बढ्दै जाँदा यस्ता आन्दोलन र विरोधको नेतृत्व युवाहरुले गर्ने क्रम पनि बढेको छ । आइतबार पनि नेपाल युवा संस्था सञ्जाल (आयोन) कर्णाली प्रदेशले कर्णाली सरकारका सामाजिक विकासमन्त्री दल रावललाई पाँच बुँदे मागपत्र बुझाएको छ । देशभर बालिका तथा किशोरीमाथि भएका बलात्कार तथा हिंसाका घटनाप्रति ध्यानाकृष्ट गराउँदै मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले जानकारी दिइन् ।

आयोन कर्णाली प्रदेशको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल), सामाजिक विकास तथा प्रवद्र्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालिकोटलगायत युवाका क्षेत्रमा काम गरिरहेका दर्जनभन्दा बढी संस्थाले पनि यसमा ऐक्यबद्धता जनाएका छन् ।

स्थानीय तहका टोल–टोलदेखि सबै ठाउँमा बलात्कारविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रति विश्वस्त हुनसक्ने सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनी विभेद नगरी दोषीलाई सजाय र पीडितलाई यथासक्य न्यायको आभाष दिलानुपर्ने आयोनको माग छ । आयोनले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुरा पाठ्यक्रममा समावेश गरी हरेक तहका कक्षामा पठनपाठन गराउन पनि माग गरेको छ ।

मागपत्रमा विद्यालयबाहिर रहेका बालबालिकालाई समेत यौनशिक्षा र आत्मरक्षाको तालिम दिइनुपर्ने र यौनजन्य तथा महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

माागपत्र बुझ्दै मन्त्री रावलले नेपालको संविधान र अन्तर्राष्ट्रिय सम्झौताका कारण बलात्कारीलाई मृत्युदण्ड दिन नसकिएको बताए । ‘त्यसकारण बलात्कारीलाई बाँचुन्जेल जेलमा सडाउनुपर्छ, हामी यो गर्न सक्छौं,’ उनले भने, ‘कर्णालीमा जनता ढुक्क हुने वातावरण तय गर्छौं ।’ कर्णाली सरकारले बलात्कार तथा हिंसाजन्य अपराध नियन्त्रणमा जनचेतनामूलक कार्यक्रम गर्न बजेट छुट्टयाएको जानकारी गराए ।

देशभरमा गत आर्थिक वर्षमा १४ सय ८० बलात्कारका घटना भएको प्रहरीको तथ्यांक छ । अर्थात्, देशभर दैनिक चारवटा बलात्कारका घटना भइरहेका छन् ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु