गृहपृष्ठ खानेपानी मन्त्री बिना मगर भन्छिन्- संघ र प्रदेश मिलेर काम गर्छाैं

खानेपानी मन्त्री बिना मगर भन्छिन्- संघ र प्रदेश मिलेर काम गर्छाैं

khanepani-newskarobar तस्बिर साैजन्य : खानेपानी मन्त्रीकाे सचिवालय ।

 

खानेपानी मन्त्रालयले आधारभूत खानेपानीको पहुँच पुर्याउन तय गरिएका योजनाहरु कार्यान्वयनमा सक्रियता बढाउने बताएको छ । खानेपानी मन्त्रालयले मंगलबार सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरु सँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै मन्त्री बिना मगरले संघ र प्रदेश सरकारबीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाईने बताइन् । उनले सन् २०३० सम्म दीगो विकासका लक्ष्यहरु पूरा गर्नु पर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘तीन वर्षभित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्याउन निकै चुनौती छ । तीनै वटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनु पर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्दछ ।’

मन्त्री मगरले अब छिट्टै नै सातै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई द्रुत गतिले अघि बढाईने जानकारी दिइन् । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उनको आग्रह थियो ।

कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटो भन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरे । कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाई थियो । खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु