गृहपृष्ठ तल्लातहका एकीकरणमा समस्या छैन : अध्यक्ष प्रचण्ड
तल्लातहका एकीकरणमा समस्या छैन : अध्यक्ष प्रचण्ड
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणमा कुनै समस्या नभएको बताएका छन् । उनले आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुंग्याउने बताएका छन् ।
प्रेस संगठन नेपाल गोरखाले शनिबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी एकतालाई प्रदेश, जिल्ला र गाउँतहसम्म सम्पन्न गर्न आइतबार पार्टी सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।
उनले भने, ‘पार्टी एकतालाई सम्पन्न गर्ने र टुंग्याउने सवालमा हामी कुनै त्यस्तो ठूलो समस्या छैन, आइतबारको बैठकबाट त्यो प्रक्रिया अगाडि बढ्छ, अब छिट्टै कार्यक्रम बनाएर देशभरि अभियानका रुपमा लैजाने समझदारी भइसकेको छ ।’
सरकारले आफ्ना क्रियाकलापलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भने, ‘पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटना, महंगी र भष्टाचार नियन्त्रणका लागि अझै प्रभावकारी ढंगले काम गर्न प्रतिबद्ध छौं ।’ उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्न अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए ।
फरक एक प्रसंगमा अध्यक्ष दाहालले भूपरिवेष्टित देशका रुपमा चिनिने नेपालको परिभाषा अब छिट्टै परिवर्तन हुने बताए । ‘नेपाललाई यसअघि भूपरिवेष्टित देश भनेर चिनिन्थ्यो, अब चीन र भारत दुवै देशसँगको सिमाना हँुदै रेल मार्ग जोडिँदै छ, त्यसैले अब नेपाल ल्याण्ड लक होइन, छिट्टै ल्याण्ड लिङ्क कन्ट्रीका रुपमा चिनिनेछ ।’
प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको उल्लेख गर्दै उनले सो सम्झौता नेपालका लागि ठूलो उपलब्धि भएको बताए । चीनको चार बन्दरगाह नेपालले व्यापारका लागि प्रयोग गर्न पाउन नेपालीका भाग्य र भविष्य सकारात्मक दिशा जाने अवस्था पैदा भएको अध्यक्ष दाहालको भनाइ छ ।
उनले भने, ‘भारतबाट पनि रेल ल्याएर राजधानी जोड्ने र चीनबाट पनि रेल ल्याएर राजधानी जोड्न जस्ता प्रक्रिया अघि बढ्नु तत्कालका लागि नभए पनि दीर्घकालीन हिसाबले सकारात्मक छ ।’ अहिले सडकका खाल्डो पुर्ने मात्र नभएर निकै ठूला–ठूला कामसमेत भएको भए पनि प्रतिपक्षले नकारात्मक कुरा मात्र बढी उठाएको अध्यक्ष दाहालले बताए ।
नेपाल च्याम्बर अफ कर्मस गोरखाका आयोजनामा आजदेखि शुरु हुने भएकोे दसैं सस्तो बजार एवं सडक मेला २०७५ को उद्घाटन गर्न प्रचण्ड गोरखा आएका हुन् । मेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन विकासका लागि गोरखाको ऐतिहासिक महत्व बोकेका स्थलहरुको प्रचार–प्रसार गर्नु आवश्यक रहेको बताए । उनले गोरखाको पालुङटारमा रहेको विमानस्थल खुलाउन पहल आवश्यक भएको बताए ।
‘सार्वजनिक र निजी क्षेत्रसँग राम्रो सहकार्य गरेर मात्रै आर्थिक विकास जनताको चाहनालाई पूरा गर्न सकिन्छ,’ उनले भने, ‘त्यसमा सहकारीलाई पनि सँगसंँगै लैजानुपर्छ ।’ अहिले नेपाललाई चाहिएको विकास नै हो भन्नेमा सरकार र प्रतिपक्ष कसैको पनि विमति नभएको भन्दै अध्यक्ष दाहालले यो अवसरलाई कसैले गुम्न दिन नहुनेमा जोड दिए । रासस ।
प्रकाशित समय १९:५८ बजे

















