गृहपृष्ठ यसरी समृद्ध हुनसक्छ सुदूरपश्चिम प्रदेश
यसरी समृद्ध हुनसक्छ सुदूरपश्चिम प्रदेश
नेपाल संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनैवटा तहको निर्वाचन सम्पन्न भई तीन तहमा सरकार सञ्चालनमा आएका छन् । तर, संघीयताको आधारका रुपमा रहेका प्रदेश र स्थानीय सरकारको सञ्चालनमा संघको सहयोग पर्याप्त रुपमा हुन नसकेको आभाष भएको छ । यसले गर्दा यिनीहरुको काम–कारबाही प्रभावकारी देखिएको छैन ।
केन्द्रीकृत मानसिकताबाट ग्रसित हँदा संविधानको भावनाअनुसार काम अझै सुरु हुन सकेको छैन । तापनि, स्थानीय तह र प्रदेशहरुले आ–आफ्नो क्षेत्रको सम्भाव्यता आंकलन सुरु गरेका छन् । नौवटा जिल्ला र ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेश क्षेत्रफलका हिसाबले सानो भए पनि प्राकृतिक हिसाबले धनी छ । अधिकांश पहाड, तराई र हिमाली भूभाग रहेको यो प्रदेशमा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, अपिनाम्पा संरक्षण क्षेत्र, सुर्मा सरोवर, घोडाघोडी ताल झिलामिला ताल, रानी ताल, रामारोसन, सैपाल हिमाल जस्ता पर्यटकीय आकर्षणका क्षेत्र प्रशस्त छन् ।
विकासका दृष्टिले हेर्दा पनि यो प्रदेशमा राष्ट्रिय आयोजना सञ्चालन हुनेमा गेटा अस्पताल, आर्युवेदिक अस्पताल, स्याउले बिपी नगर फास्ट ट्रयाक, सेती लोकमार्ग, रानीजमरा सिँचाइ आयोजना र हुलाकी राजमार्ग आयोजना छन् ।
विकासका सम्भावना अभावका बीचमा पनि जन्मिन्छन् । आफ्नो कृषि उत्पादनले मुस्किलले ६ महिना धान्ने र आय आर्जनका माध्यम निकै सीमित भएका ती बस्तीहरुमा डाक्टर, इन्जिनियरको सपना र देशको उच्च पदमा पुग्छु भनेर सपना बोकेका जेहेन्दार छात्रछात्राहरुले आफ्नै गाउँमा विश्वविद्यालयमा पढ्न नपाएर पनि उनीहरुका सपना विपना बन्न पुगेका छन् ।
सुदूरपश्चिम आखिर सुनको टुक्रा बन्न पुग्ला तर यहाँका जनताले भोग्नुपरेको बाटोघाटोको समस्या, वन्यजन्तुको आंतक, शिक्षा स्वास्थ्यलगायत मदिरा जस्ता मुख्य समस्यालाई समाधान गर्न सकियो भने त्यो सम्भव देखिन्छ । सहरी क्षेत्रको विकास नहुनाले यहाँका मानिस रोजगारीका लागि भारतलगायत वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । अशिक्षाका कारण छउपडी प्रथा उन्मूलन हुन नसक्नु, प्रचारप्रसार अभावमा सम्भावनायुक्त पर्यटकीय गन्तव्य ओझेलमा पर्नु आदि कारण समाधान गर्न सकियो भने सुदूरपश्चिम प्रदेशले समृद्धिमा फड्को मार्न सक्छ ।
नेपालको सबैभन्दा बढी वन क्षेत्र भएको यो प्रदेशमा सडक सुरक्षा, क्याम्पस खेलकुद मैदान र विद्यालय कलेजको पनि राम्रो विकास भएको पाइन्छ । साक्षरताका हिसाबले करिब ५५ प्रतिशत साक्षर रहेको यो प्रदेशमा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह र भीमदत्त पन्त जस्ता नामुद व्यक्तित्वको जन्मस्थान हो । भारत र चीनसँग लामो सिमाना रहेको यस प्रदेशमा वनबास गड्डाचौकी भन्नासार खाना रहेका छन् ।
नेपालको धेरै जलविद्युत उत्पादनको सम्भावना बोकेको यस प्रदेशमा पश्चिम सेती, चमेलिया जस्ता जलविद्युत उत्पादन क्षेत्र पनि छन् । विकास तथा आर्थिक क्रियाकलापमा आमजनसाधारणलाई जोड्न सके यो समृद्धिको आधार हुने निश्चित छ ।
(लेखक जोशी शंकरदेव क्याम्पसमा अध्ययनरत छन् ।)
प्रकाशित समय १७:४२ बजे

















