गृहपृष्ठ खानेपानी मन्त्रालयद्वारा कार्यदल गठन
खानेपानी मन्त्रालयद्वारा कार्यदल गठन
फाइल तस्बिर
खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त गरेको खानेपानी सम्बन्धी समस्या तथा गुनासाहरुको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले खानेपानी सम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागहरुको सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा मन्त्रालयको तर्फबाट सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ, अर्थशास्त्री कमलकान्त पौडेल, इन्जिनियर सुष्मा काफ्ले र सचिवालयको तर्फबाट प्रेस संयोजक शुकदेव चापागाइ, सुन्दर चौधरी र इन्द्रसिंह बुडाल सदस्य छन् । कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासाहरुलाई वर्गीकरण गरी समस्याको समाधान गर्न मन्त्रालयसँग सम्बन्धित निकायहरुलाई ताकेता गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टा (३० मिनेट) भन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासाहरु माग गरेको थियो । सोही सूचनाको आधारमा हजारौं समस्या तथा मागहरु मन्त्रालयले संकलन गरी रहेको छ ।
खानेपानीमन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानी सम्बन्धी गुनासो एवं समस्याहरु माग गरेको थियो । प्राप्त मागहरुको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजना सहित कार्य अघि बढाउने गरी मन्त्रालय लागिपरेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय १८:०१ बजे

















