गृहपृष्ठ गाउँ भरिँदै, काठमाडौं खाली हुँदै

गाउँ भरिँदै, काठमाडौं खाली हुँदै

१२ लाखले उपत्यका छोडे

दसैंको लागि काठमाडौं उपत्याका छोडेर गाउँ जानेको संख्या बढेको छ । घटस्थापनादेखि मुख्य नाबाट बाहिरिनेको संख्या बढेको हो । दसैं मनाउन विदेशबाट आएका समेत गरि शनिबार रातिसम्म १२ लाखले उपत्यका छोडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट घटस्थापना यता दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिदै आएका छन् । उपत्यका भित्रिने यात्रुहरु भने निकै कम छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै धेरै यात्रु बाहिरिने क्रम जारी छ ।

असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । उनका अनुसार २५, २६ र २७ गते पनि डेढ लाख बढी यात्रु बाहिरिएका छन् आइतबारदेखि ३ दिन धेरै यात्रुहरु बाहिरिने महाशाखाको अनुमान छ ।

‘दसैं सुरु भएसँगै नीजि सवारी तथा भाडाका सवारी साधनबाट यात्रु जाने क्रम बढेको छ, आइतबार र सोमबार धेरै यात्रु बाहिरिने अनुमान छ’, महाशाखाका प्रवक्ता लम्सालले भने, ‘यात्रुको सुरक्षाको लागि कुनै कमि गरिएको छैन ।’ उनले भने, ‘विभिन्न पेशा व्यवसाय गरेर बसेकाहरु धेरैजसो फूलपातीको अघिल्लो दिन घर जाने गरेका छन् ।’

असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । यस्तै २६, र २७ गते १५ हजार बढी सवारी बाहिरिएका थिए । यो संख्या केहि दिन अझै बढ्ने छ ।

महाशाखाले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलंकी स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

समय अघिनै काउन्टर पुग्नुपर्ने
अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन । त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टा अघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले बताएका छन् ।

टिकट पाउन समस्या
दसैंको मुख्य दिन नजिकिँदै गर्दा टिकट बुकिङमा समस्या देखिएको यात्रुहरुले गुनासो गरेका छन् । टिकट काउन्टरमा बस्दै आएकाले नजिकका आफन्तलाई फोनको भरमा टिकट दिने गरेका छन् । टिकट काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहज टिकट नपाएको केही उजुरी ट्राफिक प्रहरी परेको छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु