गृहपृष्ठ दसैंमा के खाने, कसरी खाने ? डाक्टर भन्छन्- मासु कम खानु राम्रो
दसैंमा के खाने, कसरी खाने ? डाक्टर भन्छन्- मासु कम खानु राम्रो
दसैं नेपालीहरुको महान पर्व हो । भगवान रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा मनाइने यो पर्वमा मिठो खाने, राम्रो लगाउने, मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । हिन्दू धर्मग्रन्थमा आधारित पर्व भएर पनि दसैं सम्पूर्ण नेपालीको पर्वका रुपमा विकसित हुँदै गएको पाइन्छ ।
दसैंलाई सबै वर्ग र उमेर समूहका मानिसले आफ्नो गच्छेअनुसार रमाइलो गरी मनाउँछन् । लामो समयको अन्तरालपछि आफ्ना, आफन्त र साथीभाइसँग भेट हुने भएकाले दसैंमा विशेष रमाइलो हुन्छ । दसैंलाई मुख्यतः राम्रो लाउने र मिठो खाने पर्वका रुपमा मनाइन्छ ।
चाडपर्व खुलेर मनाउनुपर्छ । तर, पाँच–सात दिन पर्व मनाउँदा त्यसपछिको व्यक्तिगत जीवन कष्टकर हुनसक्नेतर्फ भने सजग रहनुपर्छ । त्यसका लागि आफ्नो स्वास्थ्यको ख्याल गर्दै खानपिनमा ध्यान दिनुपर्छ ताकि त्यही खानेकुराका कारण हामीमा दीर्घकालीन रुपमा कुनै रोग ननिम्तियोस् ।
दसैंमा मासुको प्रयोग अत्यधिक हुन्छ । बढी चिल्लो, तारेको, भुटेको मासु खानाले पाचन प्रणाली कमजोर बन्नसक्नेतर्फ चिकित्सकहरुले सजग रहने आग्रह गरेका छन् । दसैंमा मासुसँगै रक्सी पनि अत्यधिक खाने गरेको पाइन्छ । तर, बढी रक्सी सेवनले मानिसको स्मरण शक्ति नास हुन्छ । रक्सी सेवनकै कारण समाजमा ७० प्रतिशत आपराधिक घटना घट्ने गरेको गृह मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।
दसैंमा मादक पदार्थको सेवन सकेसम्म नगर्ने र गर्नैपर्ने अवस्था आइपरे सकेसम्म कम गर्न डा. शेरबहादुर पुनको सुझाव छ । ‘दसैं स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ उनी भन्छन्, ‘तर दीर्घरोगीहरुले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ र स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसालेदार, चिल्लो तथा पिरो खानेकुरा र मद्यपान खाँदा ध्यान पुर्याउनुपर्छ ।’ दसैंमा पनि अन्य समयमा जस्तै ठिक्क खाने गरियो भने कुनै समस्या नआउने उनले बताए ।
रक्सी खाँदाका बेफाइदा धेरै छन् । रक्सी खाएका बेला कतै अपर्झट सवारी साधनमा निस्किनुपर्ने बाध्यता पर्यो भने दुर्घटनाको जोखिम धेरै हुन्छ । तसर्थ, आफूलाई सधैं आफ्नो नियन्त्रणमा राख्न पनि खानेकुरा खाँदा ध्यान दिनुपर्ने हुन्छ ।
दसैंको अष्टमीका दिन विशेष गरी दही, चिउरा, केरा र माछामासु खाने गरिन्छ । दही, चिउरा र केरा स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । दही, चिउरा, केरा र माछामासु कति र कसरी खाने अनि यसका फाइदा र बेफाइदा के–के छन् त !
दहीका फाइदा
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ ।
– दहीमा क्याल्सियम र मिनरल्स बढी पाइन्छ ।
– दहीले स्मरण शक्ति बढाउँछ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ ।
चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले जुनसुकै परिकारका साथ खान सकिन्छ ।
– प्रशस्त कार्बाेहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ ।
केराको फाइदा
– केरा पोषक तत्वको भण्डार हो ।
– केराले तौल सन्तुलित राख्न सहयोग पुग्छ ।
– हड्डी मजबुत पार्छ ।
– सुन्निएको निको पार्छ ।
– पायल्सको समस्या हटाउँछ ।
– कब्जियत हटाउँछ ।
– अल्सर निको पार्छ ।
– मृगौलामा समस्या निम्तन दिँदैन ।
माछामासु
पौष्टिकताको दृष्टिले माछामासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउन आवश्यक छ । झन् उच्च कोलस्ट्रोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्छ ।
साधारणतया मासु प्रोटिनको राम्रो स्रोत भएकाले पनि कोलस्ट्रोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सिर्जना हुने गरेको पाइन्छ । डा. पुन भन्छन्, ‘अहिले बजारमा स्वास्थ मासु पाउन छाडिसकेको छ । मासुलाई हाम्रो पर्वको मुख्य खानाको रुपमा लिइने भए पनि त्यसको सेवन गर्नु नै श्रेयस्कर हुन्छ ।’
प्रकाशित समय १०:४७ बजे

















